Comments Add Comment

महामारीमा हुनसक्ने साम्प्रदायिक दंगाप्रति संवेदनशील हुन प्रहरीलाई निर्देशन

२४ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महामारीका बेला हुनसक्ने अपराध र साम्प्रदायिक दंगाप्रति संवेदनशील बन्न ७ वटै प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

कोभिड–१९ भाइरसको महामारीका बेला समाजमा कुनै पनि प्रकारका अप्रिय घटना हुन नदिन सचेत बन्न उनले निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट भिडियो कन्फरेन्स गर्दै आईजीपी ज्ञवालीले भनेका छन्, ‘सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्ण रुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिनतर्फ ध्यान दिनुस् ।’

ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनु पर्नेतर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

ज्ञवालीले अहिलेको समयमा बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोप समेत आउन सक्ने भएकाले त्यसतर्फ पनि जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राख्न भनेका छन् ।

उनले लकडाउनको कार्यान्वयनमा अग्रपङ्तिमा खटिएका प्रहरीको सक्रिय योगदानका कारण राम्रो सन्देश गएको पनि बताएका छन् ।

‘यस्तो परिस्थितिमा खटिएका कर्मचारीको स्वास्थ्य स्थितिप्रति प्रदेश नेतृत्व अझै संवेदनशील हुनुपर्छ’, ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment