Comments Add Comment

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३ हजार नजिक

२५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५३ हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म संक्रमित हुनेको संख्या ५२ हजार नौ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार पाँच सय ६१ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८९ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या एक सय २६ थियो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १६ हजार सात सय ५८ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६ सय ५१ पुगेको छ । त्यस्तै गुजरातमा ६ हजार ६ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय ९६ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि तीन हजार एक सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा एक हजार चार सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ४४ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार नौ सय ९८ जनामा संक्रमण देखिँदा ६० जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म पाँच सय ४२ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १५ हजार दुई सय ६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment