Comments Add Comment

बैतडीमा एक सय योजनालाई निर्माणको अनुमति   

फाइल तस्वीर

२६ वैशाख, बैतडी । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो ।’

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो । व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई आग्रह गरेअनुसार अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । उनले भने, ‘लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको छ ।’

स्थानीय तहमा सुर्नया गाउँपालिकाबाहेक सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति लिएका छन् भने विकासे योजनामा महाकाली जलाधार पाटनबाहेक सबैले अनुमति मागेको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ । माग भइआएका सबै स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका कामहरु ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment