Comments Add Comment

बैंकर्स संघको सुझाव– कृषि मन्त्रीको संयोजकत्वमा छुट्टै समिति बनाऔं

२६ वैशाख, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघले कृषि क्षेत्रमा प्रभावकारी लगानीका लागि छुट्टै कमिटी बनाउन प्रस्ताव गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्र जोगाउने कृषि क्षेत्र नै भएको भन्दै यसमा गरिने लगानी  प्रभावकारी बनाउन छुट्टै कमिटी बनाउनु पर्ने प्रस्ताव संघले गरेको हो ।

संघका अध्यक्ष दाहालले राष्ट्र बैंकमार्फत सरकारलाई सुझाव दिइसकेको जानकारी दिए । उनका अनुसार, संघले कृषि तथा पशुपंक्षीमन्त्रीलाई त्यस कमिटीको संयोजक बनाउनु पर्ने प्रस्ताव गरेको छ । मन्त्रीको संयोजकत्वमा निजी क्षेत्रका संघ, संगठनहरू, राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रको प्रतिनिधित्व रहने गरी समिति गठन गर्न सुझाव दिइएको उनले बताए ।

‘कोरोनाले कृषिमा लगानी बढाउनु पर्छ भन्ने सन्देश गएको छ । लकडाउनपछि कृषिको सम्भवना धेरै छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले जसरी भएको छ, त्यसरी होइन, प्रभावकारी ढंगले कृषिमा लगानी गरेर, रिजल्ट बेसमा काम गर्नुपर्छ ।’

स्वदेशमै भएका बेरोजगार युवाहरू र वैदेशिक रोजगारीमा गएकाहरू पनि फर्किएपछि कृषि उद्यममा लगाउनु पर्ने भन्दै यसका लागि समितिले व्यापक अध्ययन गर्नुपर्ने उनले बताए ।

उनका अनुसार, संघले पठाएको सुझाव राष्ट्र बैंकमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment