Comments Add Comment

किराना पसल चलाउँथे पर्साका ६२ वर्षीय कोरोना संक्रमितले

२७ वैशाख, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेका सात जना कोरोना संक्रमितहरूमध्ये पर्साका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ । कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ। छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार बिहान उनमा कोरोना पोजेटिभ देखिएको छ ।

उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनको दुईवटा परिवारमा २० जना सदस्य छन् ।

त्यसअघि वैशाख २१ गते आइतबार वीरगञ्ज-३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनको परिवार, ससुरालीलगायत सम्पर्कमा आएका ३२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गराउँदा परिवारका अन्य १७ सदस्यमा संक्रमण पुष्टि भयो ।

केही दिनयता सोही परिवारको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको पीसीआर विधिबाट परीक्षण भइरहेको छ । सोही क्रममा अर्का एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नयाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट सम्पर्कमा आएकाहरूको पनि पीसीआर विधिबाट परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रशासनले परिवारलाई सुरक्षित बस्न आग्रह गरिसकेको छ । परिवारका सबै सदस्यको पीसीआर परीक्षणका लागि समन्वय भइरहेको वडा अध्यक्ष बैजु स्वर्णकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment