Comments Add Comment

लकडाउन पछि सेयर बजार– केही समय दबाबमा, त्यसपछि सकारात्मक !

छिमेकी राष्ट्र चीनबाट डिसेम्बर अन्तिम साता फैलिएको कोरोना भाइरस अहिले विश्वका २१५ वटा देशमा फैलिएको छ । दुई लाख ७५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने झण्डै ४० लाख व्यक्तिमा प्रत्यक्ष संक्रमण भएको छ। विश्वभरिका देशहरूले औषधि र खोप पत्ता नलागेको अवस्थामा रोग फैलिन नदिन एउटै हतियारको साहारा लिएका छन्, बन्दाबन्दी ।

यसकै सहयोगमा महामारीको बढ्दो ग्राफ केहीस्थिर भएको छ। विभिन्न देशले क्षेत्रगत रुपमा लकडाउन केही खुकुलो बनाउँदै गएका छन् । हाम्रो देशमा पनि सरकारले विभिन्न ४२ वटा क्षेत्रमा शर्तसहित आर्थिक गतिविधि गर्न छुट दिएको छ।

विश्वका अन्य देशले जस्तै हाम्रो देशले पनि लकडाउनकै साहरा लिएको छ। लकडाउनको डेढ महिना पुगेके छ । यद्यपि विश्वका अन्य देशमा लकडाउनको बेला पनि तरल सम्पत्तिको रुपमा रहेको धितोपत्र बजारले निरन्तरता पाएको छ । तर, त्यसलाई नेपालले अभ्यास गर्न सकेन ।

नेपालमा केही प्राविधिक कमजोरीसमेत भएको देखिन्छ । पूर्ण प्रविधिका प्रयोग भएका देशहरूमा यो सहज अभ्या स थियो । तर, हाम्रोजस्तो सेमिअनलाइन र प्रविधिको पूर्ण प्रयोग नभएको धितोपत्र बजार खोल्ने कि नखोल्ने भन्नेमा नै सरोकारवालाहरूमा एक मत हुन सकेन । जुन समस्या अझै जारी छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले एक तिहाइ कर्मचारी राखेर धितोपत्रको कारोबार गर्ने निर्णय गर्यो । आइतबारदेखि नेप्से खोल्न र मंगलबारदेखि दुई घण्टा धितोपत्र करोबार गर्नेगरी काम गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।

एकैदिन धेरै घट्बड नहोस् भनेर द्द५ तलमाथि हुँदा सर्किट ब्रेकरको व्यवस्थासहित अरू सुधार र सुरक्षाको उपाय अपनाएर बजार खोल्ने निर्णयमा धितोपत्र बोर्ड पुगेको छ । भुक्तानी प्रणालीलाई पनि सहज तुल्याइएको छ। हाल नेपालमा करिब १५ लाख लगानीकर्ता छन् भने करिब साढे एक लाखले सक्रिय रुपमा नियमित कारोबार गर्ने गरेको देखिन्छ ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजार अब कता जान्छ भन्ने सबैतिर कौतुहल छाएको छ । अन्य आर्थिक गतिविधि ठप्प हुँदा सेयर बजार घट्छ भन्ने साधारण मान्यता रहेको भए पनि भूकम्प र नाकाबन्दीपछि नेपालको सेयर बजार अहिलेसम्मकै उच्च बिन्दु १८८१ मा पुगेको थियो ।

लकडाउनकै बीच सञ्चालित भारतीय शेयर बजार बीएसई सेन्सेक्स ४३००० को बिन्दुबाट २५००० सम्म आएको थियो । त्यो बजारले पुनस् ३३००० को आँकडा छोइ अहिले ३१००० मा चलिरहेको छ ।

जापानिज निक्की २३००० बाट घटेर १६००० सम्म झरेको थियो । अहिले त्यो पनि २०००० पुगिसकेको छ। एस७पी(५०० ३३०० बाट २२०० सम्म आएर पुनस् २८०० को हाराहारीमा पुगेको छ । अन्य देशहरूमा पनि सुरुको दिनमा घटेको बजार पुन: पुरानै बिन्दुमा आइपुगेको छ । हाम्रो सेयर बजार भने कता जान्छ हेर्न बाँकी नै छ ।

सेयर बजारको ग्राफ मुख्य दुई कुराले निर्धारण गर्ने देखिन्छ । पहिलो ब्याजदर ९लगानीको लागत० र दोश्रो लगानीका अन्य क्षेत्रको अवसरहरु । बढ्दो ब्याजदर र लगानीका अन्य क्षेत्रमा सिर्जना भएको अवसरका कारण सेयर बजार ११०० को बिन्दुसम्म आइपुगेको थियो । ब्याजदर घट्दो क्रममा हुँदा पुनस् १६३२ सम्म पुगेको थियो ।

कोरोनाको व्यापकतासँगै बजार घटेर १२५१ मा आएको छ । बजारले पाँच खर्बभन्दा बढीको पुँजी गुमाइसकेको छ। हाम्रो बजारमा अहिले जम्मा १६ खर्ब हाराहारीको मात्रै पुँजी छ । जुन कुल ग्राहस्थ उत्पादनभन्दा १३ खर्ब कम हो ।

नेप्से १८८१ हुँदा कुल गार्हस्त उत्पादनभन्दा बजार पुँजीकरण बढी हुन पुगेको थियो । धितोपत्र बजारमा देशको कुल गार्हस्थ उत्पादन हाराहारीमा बजार पुँजीकरण हुँदा सामान्य मानिन्छ ।

हाम्रो बजारको ७० प्रतिशतभन्दा धेरै बैङ्किङ क्षेत्रले ओगटेको छ । दोश्रो त्रैमाससम्म राम्रो प्रगति विवरण पेश गरेका बैङ्कहरूको वासलात तेस्रो त्रैमासमा आइपुग्दा केही नकारात्मक देखिएका छन् । यद्यपि यो सरकार र राष्ट्र बैङ्कको अनुरोधमा दिइएको सहुलियतको कारणले हो ।

विगतका वर्षमा पनि बैङ्कहरूले श्रावणदेखि असोजसम्म लगानीको योजना बनाउने, असोजदेखि चैत्रसम्म लगानी गर्ने र वैशाखदेखि असारसम्म रिकभरी गर्ने गरेका थिए । नवनियुक्त गभर्नरले ब्याज मिनाहा हुँदैन बरु भाका सार्न सकिन्छ भनेका छन् । यसबाट कम क्षतिको आकलन गर्न सकिन्छ ।

बैङ्कहरूले बचतमा र ऋणमा दुवैतिर २ प्रतिशत ब्याजदर घटाएका छन्। यसबाट आधार ब्याजदर घट्ने अनुमान गर्न सकिन्छ । यसले लगानीकर्ताको लागतलाई कम गर्न सहयोग पुर्या उने देखिन्छ भने व्यवसायीलाई उत्साहित तुल्याउँछ। यसले गर्दा नाफामा धेरै नकारात्मक असर गर्ने देखिँदैन ।

बैङ्कहरूमा झण्डै एक खर्बको तरलता छ। लगानीका अन्य क्षेत्र खुम्चिएका छन् । बैङ्किङ क्षेत्रको नियामक निकाएका प्रमुख राष्ट्र बैङ्कमै लामो अनुभव बटुलेका व्यक्ति गभर्नर छन् । गभर्नरले धितोपत्र बजारमा झण्डै एक करोड लगानी गरेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

गभर्नरको लगानीको ९० प्रतिशत रकम बैङ्किङ क्षेत्र रहेकोले जनतामा बजारप्रति झनै सकारात्मक तरंग सिर्जना भएको छ । केही बिमा कम्पनीको तेश्रो त्रैमासिक रिपोर्ट आएको छ । जसमा अपेक्षाभन्दा कम असर परेको छ । भूकम्पपछिको जस्तै बिमाको महत्व झनै बढेको छ ।

यसले आउने दिनमा बिमामा आकर्षण बद्ने निश्चित छ । ब्याजदर घट्दा आम्दानीलाई केही असर गरे पनि बिमा कम्पनीहरूले पुँजीबजारलगायत अन्य क्षेत्रमा लगानी गरी त्यसको पूर्ति गर्ने छन्। सेयर बजारको अर्को हिस्सा हाइड्रो क्षेत्रमा महामारीले खासै असर गरेको छैन । माथिल्लो तामाकोसीको कामले निरन्तरता पाएको छ ।

अहिले सो परियोजनाको ९८ प्रतिशत काम सकिसकेको र असारको अन्तिमसम्म जसरी पनि विद्युत उत्पादन गर्ने तरखरमा छ । अन्य बन्दै गरेका हाइड्रोमा पनि अवरोध हटेको छ । बनिसकेको हाइड्रोपावरको आम्दानी निरन्तर छ अझै यो सुख्खा समयमा निरन्तर पानी पर्नाले आम्दानी बढेको छ । पर्यटन क्षेत्र अलि बढी पीडित हो ।

तर, हाम्रो पर्यटन प्रकृति र संस्कृतिमा आधारित भएको हुनाले राज्यले ध्यान दिँदा चाडै नै लयमा फर्कने छ । सडक पुर्वाधारहरू व्यवस्थित भएका छन्। उद्येगहरू नचल्दा वातावरण प्रदूषण कम भएका कारण हाम्रा सम्पदाहरू मनमोहक भएका छन् ।

हाम्रो अर्थतन्त्र उपभोग र रेमिट्यान्समा आधारित छ । यहाँ ठूला उद्योगधन्दा छैनन् । जसका कारण यो क्षेत्र प्रत्यक्ष प्रभावित भएर अर्थतन्त्र नै ध्वस्त हुने किसिमको देखिँदैन । रेमिट्यान्स घट्ने निश्चित छ । हाम्रो उपभोगको शैली परिवर्तन भएका छन ।

पेट्रोलियम पदार्थको मूल्य घटेको कारणले हाम्रो शोधनान्तर बचतमा असर गरेको छैन । यस्ता ठूला महामारीले बचतको महत्व बढेको छ । उपभोक्ता बचत बढी हुँदा पुँजी निर्माणमा सहयोग पुग्ने देखिन्छ। सरकारले ५०००० डलरभन्दा बढीको सवारी साधन आयातमा प्रतिबन्ध लगाएको छ । यो वर्ष अध्ययनको र पर्यटनको लागि बाहिरिने ठूलो बैदेशिक मुद्रा बचत भएको छ।

यो वर्षको लागि प्रयाप्त वैदेशिक पुँजीको स्रोत अनुदान र ऋणबाट सुनिश्चित गरिने भएको छ । हामी बजेटको पूर्वसन्ध्यामा छौँ । अर्थमन्त्री गत वर्षकै हाराहारीमा बजेट ल्याउने तरखरमा छन् । यो बजेटमा राजनीतिकभन्दा पनि कोरोनाले असर पुर्याषएका उद्योग तथा अन्य आर्थिक क्षेत्रमा प्राथमिकता पाउने देखिन्छ ।

धितोपत्र बोर्डले सेयर बजारको सम्बोधनका लागि केही महत्वपूर्ण प्रस्ताव अघि सारेको छ । यदि लाभकर अल्पकालीन र दीर्घकालीन छुट्याइएर सम्बोधन भयो भने बजार स्थायित्वको लागि वातावरण सिर्जना हुनेछ । कर कम हुँदा बचत रकमले पुनस् पुँजी निर्माण गर्न सहयोग गर्नेछ ।
लकडाउनका बीच पनि केही विकासका आयोजनाले निरन्तरता पाएका छन्। गत वर्ष पनि पुँजीगत खर्च जेठ र असारमा नै धेरै हुँदै आएका हुन् । त्यसैले कोरोनाको असर जति अर्थतन्त्रमा पर्ने सोचेका छौं त्योभन्दा कम पर्नेछ र देशको अर्थतन्त्र आफ्नै दिशामा अघि बढ्ने छ ।

आगामी बजेटमा कोरोना अतिप्रभावित क्षेत्र पहिचान गरेर त्यसको व्यपस्थापन गर्ने हो भने कोरोनाको असर नेपाली अर्थतन्त्रमा त्यति धेरै गहिरो देखिँदैन र यो चाँडै लयमा फर्किने छ । धेरै देशहरू पुनस् लयमा फर्कने कोसिस गर्दैछन् भने कोरोनाको उपचारमा चाँडै सफलता मिल्ने केही तथ्यहरू विकास भएको देखिन्छ ।

हाम्रो धितोपत्रमा धेरै कुराको आधुनिकीकरण भइरहेको छ । हामी कागजी प्रणालीबाट सेमिअनलाइन प्रणालीसम्म आइपुगेका छौं । यद्यपि यो मात्रै पर्याप्त छैन र विश्व पुँजी बजार धेरैअघि बढिसकेको छ । हामीले गर्नुपर्ने धेरै छ । कोरोना कहरले हाम्रो पुँजीबजारको नियामक निकायलाई धितोपत्र बजारपूर्ण अनलाइनमा सञ्चालन गर्न र बढीभन्दा बढी प्रविधिको प्रयोग गर्न पुनस् एक पटक झक्झकाएको छ र दबाब दिएको छ ।

नियामकहरूलाई नैतिक दबाब परेको छ । बैङ्कलाई ब्रोकर लाइसेन्स दिने अध्ययन चाँडो पूरा गर्न संसदीय उपसमितिलाई एक पटक सम्झाएको छ । विभिन्न कोणबाट हुने धितोपत्रसम्बन्धी छलफलले व्यापकता पाएको छ र बजार परिपक्क हुँदै गएको छ । पूर्ण र व्यवस्थित अनलाइन प्रणालीको लागि अझै दबाब दिन आवश्यक देखिन्छ ।

सेयर बजार वासलातले मात्र चल्दैन । यो कुनै धर्का समातेर पनि अघि बढ्दैन भन्ने कुरा पटक–पटक प्रमाणित भएको छ । धितोपत्र बजारमा हरेक दिन नयाँ हुन्छ र हरेक वातावरणले फरक मनोवैज्ञानिक असर गर्छ भन्ने मान्यता राख्छ । धितोपत्र बजार अपेक्षा र आतंकको मनोवैज्ञानिक मैदान हो ।

यो सधैं आम अपेक्षाभन्दा फरक दिशामा अघि बढ्छ । नेपाली धितोपत्र बजारको पनि आयतन धेरै विकास भइसकेको छ । एउटै व्यक्ति वा समूहले मात्र तलमाथि गर्न अहिले त्यति सम्भव देखिँदैन। विश्वका जुनसुकै बजार पनि अनुमान गर्ने हो यसै हुन्छ भन्न सकिँदैन ।

यद्यपि यसका पनि आधारभूत सिद्धान्त भने हुन्छन र लगानीकर्ताले लगानीको विवेकपूर्ण तरिकाले प्रयोग गर्नुपर्छ । त्यसै आधारमा लगानी गर्दा विभिन्न आयाम हेरेर लगानी गरौं । जनयुद्ध, भूकम्प, नाकबन्दी आदि अनेक विपत्ति भोगेको हाम्रो अर्थतन्त्र कोरोना कहरपछि फेरि उठ्ने छ ।

प्रधानमन्त्रीले भने जस्तै हामी लड्दै उठ्दै धुलो टक्टकाउँदै पुनस् अघि बढने छौं । बजार केही समय दबाबमा परेपनि सकारात्मक बन्नेछ । (विचार लेखकका निजी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment