Comments Add Comment

दक्षिण कोरियामा कोरोनाको दोस्रो लहरको चिन्ता

२८ वैशाख, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिने आशंका बढेको छ ।

कोरोना भाइरसको पहिलो लहर नियन्त्रणमा ल्याउन सक्ने मुलुक भनेर सर्वत्र चर्चा भएको थियो । कोरोना नियन्त्रणमा आएजस्तो देखिएपछि यहाँको दैनिकी सामान्य बनेको थियो । तर यहाँ पुनः कोरोनाको सामूहिक संक्रमण देखिन थालेको छ ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारमा सामूहिक संक्रमण देखिएको छ । आइतबार ३४ नयाँ संक्रमित देखापरेको त्यहाँस्थित रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो संख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण फैलिएको बताइएको छ । ती संक्रमित व्यक्ति मे १ र २ मा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उनको सम्पर्कमा पुगेका २ हजार जना बढीमा पनि संक्रमण फैलिने अनुमान गरिएको छ । त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै संक्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८ सयको हारहारीमा छ । ९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment