Comments Add Comment

भारतले मिचाहा प्रवृत्ति देखायो : पूर्वसांसद मञ्च

फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । पूर्वसांसद मञ्च, नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको संज्ञा दिएको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल नेपाली भूभाग फिर्ता गर्न माग गरे ।

सुगौली सन्धिकालीन आधिकारिक नक्साले नै लिपुलेक–कालापानीलगायत भूभाग नेपालको पुष्टि गरेको हुँदा यो पक्षलाई गम्भीर रूपमा हेक्का राख्न भारतीय पक्षलाई मञ्चले सुझाव दिएको छ ।

वार्ताद्वारा विवादलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्नेमा भारतीय पक्षले आलटाल गरेको आरोप मञ्चको छ । नक्सा सार्वजनिकपछि बढेको विवाद टुंग्याउन परराष्ट्र सचिवस्तरमा किन वार्ता गरिएन भन्ने प्रश्न पनि मञ्चले गरेको छ ।

‘सन् १८१६ मा भएको ब्रिटिस भारत र नेपालबीचको सुगौली सन्धिमा महाकालीपारि मात्र भारत भन्ने प्रष्ट छ । जल विज्ञानको सर्वमान्य सिद्धान्त र वैज्ञानिक मापदण्डबमोजिम लिम्पियाधुराबाट निस्कने खोला नै काली नदी हो,’ विज्ञप्तिमा भनिएको छ ।

अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ताका लागि प्रधानमन्त्रीस्तरमा वार्ता मञ्चले सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment