Comments Add Comment

लिपुलेकमा सडक बनाउनु भारतको मिचाहा प्रवृत्ति : राप्रपा

२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूमिमा एक पक्षीय ढंगले सडक बनाएर मिचाहा प्रवृत्ति देखाएको भन्दै विरोध जनाएको छ ।

राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको अविभाज्य क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकमा राखेको सेना हटाउनुका सट्टा झन् सडक बनाउनु मिचाहा प्रवृत्ति भन्दै विरोध जनाएको हो ।

राप्रपाले लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु भएको थाहा हुँदाहुँदै नेपालसँगको परामर्श र सहमति विना नै भारतसँग द्विपक्षीय व्यापारिक नाका बनाउने सहमति गर्ने र यातायातको निमित्त सडक खोल्न सहमति दिने चीनको नीतिसमेत आपत्तिजनक रहेको बताएको छ ।

यसबारेमा नेपाल सरकारको निष्क्रियता र उदासिनता खेदजनक भन्दै राप्रपाले वक्तव्य जारी गरेर मात्र जिम्मेवारी पूरा नहुने बताएको छ ।

राप्रपाले नेपाली भूमिको अतिक्रमण, भारतीय सेनाको उपस्थिति र सडक निर्माण कार्यको विरोध गर्दै तत्काल कुटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधानका लागि भारत सरकारलाई पत्राचार गर्न आग्रह गरेको छ ।

त्यस्तै भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाई विरोध जनाउन र राष्ट्रिय सहमतिको आधारमा भावी रणनीति तयार गर्न सर्वदलीय बैठक बोलाउन माग गरेको छ ।

त्यस्तै सीमा विवाद अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन पहल गर्न पनि आग्रह गरेको छ । त्यस्तै त्रिदेशीय विन्दुबारे निर्णय गर्दा नेपालसँग परामर्श र सहमति नगरेको प्रति चिनियाँ सरकारको पनि ध्यानाकर्षण गराउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment