Comments Add Comment

नेपालमा ‘लेण्डुप दोर्जे’को खोजी

लेन्डुप दोर्जे

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो बनाएको कुरा भारतीयरक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेको समाचार आएपछि मात्र नेपाल सरकारले थाहा पाएको खबर छ। लिपुलेक र कालापानीको चट्टानी पहाडहरूमाभारतीय सेनाद्वारा विष्फोटन गर्दै र हेलिकप्टरबाट सामान ढुवानी गर्दै विगत दुई वर्षदेखि निरन्तर निर्माण कार्य चलिरहेको उक्त सडकका बारेमा नेपाल सरकारलाई बल्ल थाहा भएको कुरा आफैँमाअचम्म लाग्दो छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटोमार्फत् अब भारतीय तीर्थयात्रीलाई मानसरोवर दर्शन गर्न सजिलो हुने बताउँदै सडक उद्घाटन गरेको समाचार आएपछिमात्र सो क्षेत्रमा भारतीय गतिविधि भएको कुरा आफूले विभिन्न पत्रपत्रिका र सञ्चार माध्यमहरूबाट थाहा पाएको नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

अघिल्लो वर्ष भारतले लिपुलेक र कालापानी क्षेत्रलाई आफूमा समावेश गरेर नक्सा प्रकाशित गरेको थियो जसको नेपालमा विरोध भइरहेको छ।

अचम्म को कुरा त के भने २०२०को नेपालको यो अवस्था र १९७५ अघिको सिक्किमको जस्तै देखिन्छ । सिक्किम अहिले भारतको प्रान्तको रूपमा रहे पनि कुनै समय सिक्किम आफैँमा एउटा सार्वभौम मुलुक थियो । सिक्किममा पनि १९७५मा राजतन्त्रको अन्त्यसँगै बहुमतको सरकार गठन भएको थियो।

नेपालमा आएको गणतन्त्र पनि भारतीय योगदान नै मानिँदै आएको छ। संविधान संशोधनमार्फत् तराई र पहाडबीच द्वन्द्व चर्काउन भारत कस्सिएको छ। साम्प्रदायिक मुद्दा पनि त्यसरी नै उजागर गरिएको पाइन्छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई खुसी पार्न पनि निकै प्रयास गरिरहेका छन्। उनले चुनावलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणका लागि पठाएका थिए। त्यसको केही महिनापछि उनी आफैँ नेपाल भ्रमणका लागि आएका थिए।

नेपालमाथिको भारतीय हस्तक्षेप २००७ सालमा प्रजातन्त्र स्थापनादेखि नै सुरु भएको हो। बीचमा राजा महेन्द्रले र राजा बीरेन्द्रले यसलाई केही निस्तेज पार्न खोजेपनि नेपालमाथि सिक्किमीकरणको प्रयास अझै पनि जारी छ।

सिक्किमलाई भारतमा विलय गराउन लेन्डुप दोर्जेको मुख्य भूमिका रहेको थियो। लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो। नेताहरूले आफ्ना प्रतिपक्षी नेतालाई बेलाबेलामा ‘लेन्डुप दोर्जे’को संज्ञा दिएर आरोपप्रत्यारोप गरेको निकै सुनिन्छ। सिक्किमलाई भारतमा विलय गराएका लेन्डुप दोर्जेलाई देशद्रोह र गद्दारको पर्याय मानिन्छ।

लेण्डुपले ४१ वर्षको उमेरमा सिक्किम प्रजा मण्डल नाम गरेको पार्टीको स्थापना गरेका थिए। जसको अध्यक्ष उनी स्वयं थिए। त्यसको ८ वर्षपछि उनले आफ्नो पार्टीलाई सिक्किम स्टेट काङ्ग्रेसमा विलय गराएर नयाँ पार्टीको अध्यक्ष बने। त्यसपछि उनी भारत भ्रमणमा गएका थिए। त्यहाँ उनले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेट गरे।उक्त भ्रमणपछि उनको राजनीतिक एजेण्डामा एकाएक परिवर्तन आउन थाल्यो।

लेन्डुपले राजतन्त्रविरुद्ध चर्को आवाज उठाउन थाले। उनले एकाएक आफूलाई सानै उमेरमा ‘काज’ पदावधि दिलाउने राजाका विरुद्ध उत्रिन थाले। सिक्किममा राजतन्त्र रहेसम्म उसलाई आफूमा विलय गराउन नसक्ने कुरा भारतले राम्रोसँग बुझेको थियो। त्यसैले उसलाई आफ्नो इसारामा चल्ने एक सिक्किमेली नेताको आवश्यकता थियो र लेन्डुप दोर्जे भारतको ‘गोटी’ बन्न पुगे।

भारतको समर्थन पाएका लेण्डुपको पार्टीले सिक्किममा भएको सन् १९५८को निर्वाचनमा २० मध्ये ८ सिट जित्न सफल भयो। यसैबीच भारतले सिक्किममा रहेका लेप्चा, भोटे र नेपाली भाषीकाबीचमा साम्प्रदायिक द्वन्द्व चर्काउन थाल्यो।‌ लेण्डुपले भारतको इसारामा सिक्किममा जातीय द्वन्द्व र अस्थिरता मच्चाउन थाले।

त्यसपश्चात सन् १९७३मा भएको चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले १८ मध्ये ५ सिटमा मात्र सफलता हात पारेको थियो। उक्त चुनावपश्चात पाँच सिट जितेको सिक्किमी राष्ट्रिय कांग्रेस र दुई सिट जितेको सिक्किम जनता कांग्रेसले चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगका पदाधिकारीहरूलाई कारबाही गर्न माग गरे।

उनीहरूको माग पूरा नभएपछि भारतको सहयोगमा उनीहरूले सिक्किममा आन्दोलन गर्न थाले। फलस्वरूप सिक्किमका राजा चोग्याल, सिक्किमका राजनैतिक दलहरू र भारतसरकारबीच त्रिपक्षीय वार्ता गरियो। उक्त वार्ताले भारतले पठाएको प्रमुख कार्यकारीको निर्देशनमा सिक्किममा एउटा जिम्मेवार सरकार गठन गर्ने निष्कर्ष निकालेको थियो।

त्यसपश्चात् सिक्किममा सन् १९७४मा आमनिर्वाचनको घोषणा भयो जसमा सिक्किम जनता कांग्रेस दोर्जेको सिक्किम राष्ट्रिय कांग्रेससँग विलय भएर चुनावमा होमिएको थियो। १९७४को निर्वाचनमा सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मध्य ३१ सिट प्राप्त गर्यो र बहुमत सरकारको प्रधानमन्त्री बने लेन्डुप दोर्जे ।

भारतीय हस्तक्षपसँगै सिक्किमको दुईतिहाइ संसदले सिक्किमलाई भारतमा विलय गराउने निर्णय गर्यो। यसरी सिक्किम एउटा छुट्टै स्वाधीन राष्ट्रबाट छिमेकी राष्ट्र भारतको एउटा प्रान्तको रुपमा स्थापित भयो । त्यहाँका प्रधानमन्त्री लेन्डुप दोर्जे भारतको प्रान्त सिक्किमका मुख्यमन्त्री बने।

यसरी लेन्डुप दोर्जेलाई भारतले थुप्रै राजनीतिक नाटक मञ्चन गर्न लगाउँदै सिक्किमलाई आफूमा विलय गराएको थियो। लेन्डुपको काम सकिएपछि भारत सरकारले उनलाई सिध्याउन लागिपर्यो र १९८०मा भएको सिक्किम प्रान्तको निर्वाचनमा लेण्डुपको पार्टीलाई अस्तित्व नै नरहने गरी हराइयो। सत्ताच्यूत भएपछि विक्षिप्त बनेका लेन्डुपले सिक्किमलाई भारतमा विलय गराएकोमा पछुतो माने । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो।

भारतको नेपालमाथिको हस्तक्षेप र नेपाली नेताहरूको शैली देख्दा नेपालमा पनि नेताहरूमाझ ‘लेन्डुप दोर्जे’ बन्न होडबाजी चलेको छ कि भन्ने लाग्न थालेको छ। २००७ सालमा प्रजातन्त्र स्थापना गरेका नेपाली जनताले २०१७ सालदेखि पञ्चायत भोग्नुपर्यो । त्यसपश्चात् २०४६मा फेरि पनि आन्दोलन गरेर प्रजातन्त्रको पुनर्वहाली गरे ।

पटक पटकको आन्दोलनपश्चात् पनि प्रजातन्त्र महसुस गर्न नपाएपछि अन्ततः २०६३ सालमानेपाली जनतालाई राजतन्त्रको नै अन्त्य गरिदिए । तर, स्मरण रहोस् यी सबै घटनामा भारतको योगदान रहेको छ र यी सबै कामहरू भारतीय ‘डिजाइन’मा नै सम्पन्न भएका हुन्।

भारतीय नाकाबन्दी, मधेसवादी दललाई उकास्नु, साम्प्रदायिक र जातीय मुद्दालाई उठाएरअस्थिरता ल्याउनु, संविधान संशोधन गर्न बाध्य बनाउनु जस्ता घटनाहरूबाट नेपाललाईपनि भारतले सिक्किमीकरण गर्न खोज्दै पो छ कि भनेर सोच्न बाध्य बनाउँछ। गणतन्त्रस्थापनाको सम्झौता नै दिल्लीमा गरिनुले उक्त शंकालाई अझ मजबुत बनाउँछ।

नेपाली नेताहरू बेलाबेलामा दिल्ली धाउनु र भारतले नेपालको राजनीतिमा सोझै हस्तक्षेप गर्नु जस्ता क्रियाकलापले नेपालमा पनि भारतद्वारा सही ‘लेण्डुप’को खोजी भइरहेको छ कि भनेर नेपाली जनतालाई झस्काएको छ। आजको समयमा नेपाली जनताले आफ्नो सार्वभौमसत्ता र राष्ट्रियता जोगाउनका निम्ति समयमै नेपालमा भारतद्वारा खटाइएको ‘लेन्डुप’ पहिचान गर्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment