Comments Add Comment

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् ।

यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने ।

भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’

उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने ।

सीमामा आएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको लागि गृह मन्त्रालयले तयारी गरिरहेको बताए । ‘आजभोलि नै यो विषय टुंगिन्छ,’ ज्ञावालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment