Comments Add Comment

निर्माण सामग्री अभावले रोकियो काम

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा निर्माण सामग्री अभाव भएपछि ङादी आयोजनाको काम अघि बढ्न सकेको छैन । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ३० मेगावाटको सो आयोजनाको काम सामग्री अभावमा रोकिएको आयोजनाले जनाएको छ ।

सरकारले आयोजना निर्माणको अनुमति दिए पनि निर्माण सामग्री ढुवानीमा समस्या भएकाले काम हुन नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिए । उनले भने, ‘आयोजनामा सिमेन्ट, रड अभाव भएकाले हालसम्म पनि निर्माण भएको छैन, सो सामग्री नारायणगढबाट ल्याउनुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट दुवानी सवारी साधनको पास लिइसकेको र केही दिनमा ढुवानी भएसँगै आयोजनाको काम अघि बढ्छ ।’

आयोजनामा कामदार भने अभाव नभएको जनाइएको छ। ‘सामग्री आएपछि स्वास्थ्य सावधानी अपनाउँदै र सरकारको नियममा रहेर आयोजनाको काम अगाडि बढाउने तयारीमा छौं,’ उनले भने । ०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको सो आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार गत चैत महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपर्थ्यो। तर, विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माण सम्पन्न अनिश्चित बनेको छ । हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सुरुङ, विद्युत गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित सात सय २५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब ६ अर्ब रुपैयाँको लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

आयोजनामा एभरेस्ट बैङ्कको अगुवाइमा पाँच बैङ्कले ७५ प्रतिशत अर्थात् चार अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको आयोजना प्रमुख उत्तम अमात्यले जानकारी दिए । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दर अनुसार वर्षायाममा ४.८० रुपैयाँ र सुक्खायामका लागि ८.४० रुपैयाँमा विद्युत् खरिद सम्झौता पीपीए गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment