Comments Add Comment

कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले

३० वैशाख, पोखरा । पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत करिब तीन महिनाअघि कामका लागि भारतको कर्नाटक क्षेत्र गएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरे ।

७ दिनमा उनी कर्नाटकबाट नेपाल भारत सीमा आए र त्यहाँबाट ५ दिनमा पोखरासम्म । १२ दिनको यात्रा गरेर मंगलबार पोखरा आइपुग्दा बिहानको १० बजेको थियो । अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए । तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे ।

प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । उनको खुट्टामा सामान्य चोट लागेको छ । ‘गेटबाट भित्र मात्र छिन लागेका थियौं । भाइले माथिबाट झ्याम्मै हाम फालिहाले,’ पोखरा ८ वडाध्यक्ष रुद्र बरालले अनलाइनखबरसँग भने, ‘तर प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्यो ।’

क्वारेन्टिमा बस्नुपर्ने डरले हाम फालेको हुनसक्ने वडाध्यक्ष बरालको अनुमान छ ।

उनले मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरासम्म आइपुगेको वडालाई जानकारी दिएका छन् । कर्नाटकबाट बिहारसम्म कति ठाउँमा हिँडेर त कति ठाउँमा अत्यावश्यक बसमा चढेर यात्रा गरेको बस्नेतले बताएका छन् । ‘ठाउँठाउँमा पुलिसलाई ५ सयको आइसी दिएर हिँड्न पाएँ,’ बस्नेतको भनाइ उदृत गर्दै वडाध्यक्ष बरालले सुनाए, ‘बिहारमा केही दिन क्वारेन्टिनमा राखिदियो ।’

बिहारको क्वारेन्टिनबाट पनि भागेर आएको उनले वडामा जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नवराज अभिकारीले बस्नेतलाई महानगरको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

‘उनको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइसकेका छौं । पीसीआर टेस्टको नतिजा भोलि आउँछ,’ उनले भने, ‘अहिले उनलाई लेकसिटीमा बनाइएको क्वारेन्टिनमा लगिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment