Comments Add Comment

गुणकारी गुन्द्रुक

दुःख वा अभावको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ । रेष्टुरेन्ट खुलेको बखत थाइल्यान्डको तोमयाम सुपदेखि बेइजिङको बेइजिङ डकसम्म खान सकिन्छ । जापानी शुशीदेखि भियतनामी फसम्म चाख्न सकिन्छ । तर, भटमास, गोलभेडा मिसाइएको गुन्द्रुकको झोलको तलतल कहाँ मेटिन्छ ?

त्यसैले त कतार–मलेसियादेखि युरोप–अमेरिकासम्मका नेपालीहरुले कोसेलीको रुपमा गुन्द्रुक बोक्ने गरेका छन् । गाउँघरदेखि शहरका तारे होटल र सुपरस्टोरहरुमा गुन्द्रुक उपलब्ध हुन्छ ।

गुन्द्रुक गुणी खान्की पनि हो । गुन्द्रुकले न तपाईंको शरीरभित्र विकार पैदा गर्छ, न वायु । बरु पेट सफा राख्छ । त्यसबाहेक पनि अरु पौष्टिक तत्व गुन्द्रुकमा पाइन्छ ।

अर्को कुरा, यो नितान्त हाम्रो मौलिक खान्की पनि हो । हाम्रा पूर्खाहरुको खानपान चेत र सीप पनि यसमा मिसिएको छ । हरियो सागपातलाई घाममा ओइलाएर बनाउने गुन्द्रुक लामो समय भण्डारण गरेर खान सकिन्छ ।

अहिले सर्वत्र लकडाउन छ । अधिकांश घरमा बसेका छन् । यस्तो बेला छिटो मीठो परिकारको रुपमा गुन्द्रुकको झोल बनाएर खाने कुरा त छँदैछ, फुर्सदको क्षणमा आफैले गुन्द्रुक बनाउन पनि सकिन्छ । यतिबेला सागपात प्रशस्तै पाइन्छ । गुन्द्रुक बनाउन कतिपनि गाह्रो छैन । खाँचो त मात्र जाँगरको छ । यदि जाँगर छ भने अहिले गुन्द्रुक बनाउन सकिन्छ । यसलाई पछिसम्म भण्डारण गरेर जिब्रोको स्वाद फेर्न सकिन्छ ।

कसरी बनाउने गुन्द्रुक ?

धेरैलाई थाहा हुनुपर्छ गुन्द्रुक बनाउने काइदा । रायोको साग, तोरीको साग आदि थुप्रै किसिमको सागलाई सफा पानीले राम्ररी पखाल्ने । त्यसलाई घाममा ओइलाउन दिने । यसरी ओइलाएको सागलाई कुटेर बाँसको ढुंग्रो, भाँडो वा प्लाष्टिकको बोत्तलमा समेत राम्ररी खाँदेर राख्नुपर्छ । उक्त ढुंग्रो वा बोत्तलबाट हावा समेत नजाने हिसाबले बिक्रो लगाउनुपर्छ । अब त्यसलाई न्यानो वा घाम लाग्ने स्थानमा राख्नुपर्छ ।

बिहान थोरै मनतातो पानी राख्नुपर्छ । केही दिनपछि गुन्द्रुकको तिख्खर बस्ना आउँछ । अमिलो हुन्छ । अब गुन्द्रुकलाई भाँडोबाट निकालेर घाममा सुकाउनुपर्छ । यसरी सजिलैसँग बनाइने गुन्द्रुक महिनौंसम्म राखेर सेवन गर्न सकिन्छ ।

के पाइन्छ गुन्द्रुकमा ?

गुन्द्रुकमा फलाम तत्व प्रशस्त पाइन्छ, जो हाम्रो शरीरलाई आवश्यक हुन्छ । त्यससँगै गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ हुने बताइन्छ । हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए, सी पाइन्छ ।

–गुन्द्रुकले पाचन क्षमता बढाउँछ । रेसायुक्त हुने भएकाले यसले कब्जियतका रोगीलाई अरु फाइदा गर्छ ।

–गुन्द्रुकले खासगरी पेटलाई सफा राख्न मद्दत गर्छ । गुन्द्रुकको झोलसँग भात खाएको बेला पेट हल्का महसुष हुन्छ ।

–पेटको समस्या भएकाहरुलाई अति उपयोगी हुन्छ गुन्द्रुकको झोल ।

–कोलोस्टोरको समस्या भएकाहरुले पनि गुन्द्रुकको सेवनबाट लाभ उठाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment