Comments Add Comment

लघुकथा : छविलाल महाकालीमा हामफाल्यो !

“ऊ हाम्रा बाउ, देखिस् ?” हर्केले भन्यो ।

प्याउलीले आँखाको दृष्टि डोल्याएर पारितिर हेरी । नदीको बगरमा अनगिन्ती मान्छे थिए । त्यो भिडमा उसले आफ्ना बाउलाई ठम्याउन सकिन ।

“ऊ क्या त कालो भोटो लगाएर उभिएका ।”

“देखेँ देखेँ !”

बालाई देखेपछि प्याउली भक्कानिई अनि रुँदै बोलाई, “ए बाउ ! हामी तिम्लाई लिन आका हौँ । आमाले मकै भुटेर पठाकी छिन् । छिटो आऊ, सँगै बसेर खाम्ला ।”

महाकाली नदी आफ्नै गतिमा बगिरहेको थियो । नदीको आवाजले वारिको कुरा पारि सजिलै बुझिँदैनथ्यो ।

बैनी रुँदै थिई, हर्के चिच्यायो, “ए बाउ, अलि ओर आउ त ।”

त्यसपछि ऊ बैनीलाई लिएर किनारामै पुग्यो । प्याउली पानीतिर कुँद्दै थिई, उसले भन्यो, “पर नजा खोलाले बगाउँच ।”

हर्केको आवाज छविलालले सुनेछ क्यारे, ऊ पनि खोला किनारमै आयो ।

“बाउ वारि आउ छिटै ।” रुँदै प्याउलीले भनी ।

छोराछोरीलाई देखेपछि छविलालका आँखा साउनको झरीजस्तै वर्षन थाले । भोक, प्यास र निद्राले शरीर ओइलाएको थियो । तैपनि ठूलो शक्ति बटुलेर भन्यो, “त्यता आउन दिन्नन् । पुलमा काँडा लाछन् । खोलो तर्न सक्दिनँ । कसरी आउनु !”

“कैले आउँछौ त ?”

“खै ? यो कोरोना नसकिएसम्म आउन मिल्लाजस्तो छैन । त्यतिबेलासम्म मरिने पो हो कि ! तिमोरको मुख हेर्ने ठूलो धोको थियो ।”

त्यसपछि तीनैजना रोए ।

केही समयपछि छविलालले भन्यो, “अलिअलि ल्याएका पैसा यतै सकिए । रित्तो हात घर गयो भने साहुले हाडछाला छुट्याउन खोज्छन् । त्यसैले यतैबाट काला पाहाड फर्कुँकी भन्ने विचार गर्दैछु । के गरुँ भन त ?”

“अब नजाऊ बा काला पाहाड । मरे पनि सँगै मरौँला । दश नङ्ग्रा खियाए यतै पनि दुई छाक खान सकिन्च । म पनि सघाउँला, यतै आउ ।” हर्केले भन्यो ।

छोराको कुरा सुनेपछि छविलालको छाती चरक्क चर्कियो । उसले आफूलाई सम्हाल्न सकेन । ठूलो साहस बटुलेर एक्कासी महाकाली नदीमा हाम फाल्यो ।

(तिलोत्तमा– ८, रुपन्देही)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment