
१ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो ।
बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यहाँ ४ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको छ । त्यस्तै, दुई सय जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार परीक्षण नसकिए शुक्रबार पनि नमुना लिइने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताए । पहिले विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उनले बताए ।
बिहीबार कालीमाटी बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकको पनि नमुना संकलन गरिएको उनले बताए ।
प्रतिक्रिया 4