Comments Add Comment

गण्डकीका मन्त्री भन्छन्- नेपालीलाई सीमामा परीक्षण गरेर ल्याउनुपर्छ

१ जेठ, पोखरा । बागलुङका दुई जनामा कोरोना संक्रमण देखिएर निको भएपछि बिहीबार गण्डकी प्रदेशमा फेरि एक जना संक्रमित थपिए । बिहीबार नवलपरासी पूर्वको देवचुली नगरपालिकामा ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा फेरि त्रास बढेको छ ।

भारतदेखि तरकारी, फलफूल र खाद्यान्नको गाडीमा लुकेर आउने क्रम लकडाउन सुरु भएदेखि नै रोकिएको थिएन । हिँडेरै आउनेहरुको संख्या पनि उत्तिकै थियो । सोर्सफोर्समा पास बनाएर छिर्नेदेखि मुख्य नाका छलेर प्रवेश गर्ने क्रम पछिल्लो समय अझ बढेको थियो ।

बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुष पनि भारतदेखि ट्रकमा आएका थिए । यसरी लुकेर आउनेको निगरानी गरेर बेलैमा क्वारेन्टाइन राख्ने र टेस्ट बढाउन नसक्ने हो भने कोरोना संक्रमण बढ्न सक्ने डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।

लकडाउन यतामात्रै ५ हजारभन्दा बढी सवारी साधन गण्डकी प्रदेश प्रवेश गरेको र ४ हजार ६ सय ५९ जना विदेशबाट प्रवेश गरेको तथ्यांक प्रदेश सरकारसँग छ । अत्यावश्यकबाहेक कति सवारी साधन गण्डकी प्रवेश गरे, त्यसमा कति मानिस थिए भन्ने तथ्यांक भने प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग छैन ।

मंगलबारमात्रै गण्डकी प्रदेशमा ९ सय १९ जना प्रवेश गरेका छन् । स्याङ्जाको राम्दी हुँदै ३ सय ५६, तनहुँको मुग्लिन हुँदै ५ सय ४३ र बागलुङ खर्वाङ हुँदै १६ जना विभिन्न ठाउँबाट गण्डकी प्रदेश प्रवेश गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तरकारी, फलफूल र खाद्यान्नको गाडीमा सुतेर र रातीराती लुकेर आउनेले जोखिम बढाएको बताउँछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक अधिकारी भने मन्त्रीदेखि सीडीओेसम्मको सेटिङमै संक्रमित जिल्लाबाट मानिसको प्रवेश भइरहेको दावी गर्छन् ।

सानो लापरवाही र हेलचेक्र्याईंले भयावह रुप लिन समय नलाग्ने पोखराका राजेन्द्र आचार्य बताउँछन् । ‘अहिलेको मुख्य काम भनेकै सकेसम्म बाहिरबाट कसैलाई पनि आउन नदिने हो’ उनी भन्छन् ।

सीमामा अलपत्र नेपालीलाई यसै छाड्ने र उनीहरु चोर बाटोबाट नेपाल भित्रने हो भने अझै संक्रमण फैलिन सक्ने देखिएको छ । अहिले पनि भारतको सीमामा हजारौं नेपाली अलपत्र छन् ।

सीमाबाट सहज प्रवेश नपाए पनि भारतमा अलपत्र नेपाली चोर बाटोबाट लुकेर आउने गरेका छन् । यसले थाहै नपाई धेरै गाउँसम्म कोरोना भाइरस पुग्न सक्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘संघीय सरकार गम्भीर बनोस् ।’

नेपालीलाई सीमामा परीक्षण गरेर आउन दिनुपर्छ
हरिबहादुर चुमान, आन्तरिक मामिला तथा कानुनमन्त्री, गण्डकी प्रदेश

भारतदेखि र सीमा क्षेत्रबाट मलाई पनि फोन आएर हैरान छ । हामी जसरी पनि आउँछौं, आउने व्यवस्था मिलाउनुपर्‍यो भनिरहेका छन् । हामी बोर्डरमा आउँछौं, त्यहाँबाट जसरी पनि आउने आँगन टेक्ने व्यवस्था मिलाइदिनुपर्‍यो, मेरै निर्वाचन क्षेत्रका मान्छेहरुले पनि भनिरहेका छन् ।

सीमामा अलपत्र पर्नुपर्दा उनीहरुमा सन्त्रास र ज्यानको जोखिम हुनु स्वाभाविकै हो । रिस र आवेग उत्पन्न हुनु पनि स्वाभाविक हो । भारतका विभिन्न ठाउँबाट अहिले पनि धमाधम बोर्डरमा ओइरो लागिरहेको छ । संकटमा आफ्नो देश र सरकारले हेरिदिओस् भन्नु नागरिकको अधिकारै हो भने राज्यको दायित्व नै हो ।

बोर्डर क्षेत्रमा संघीय सरकारले क्वारेन्टाइनको व्यवस्था गरेर उनीहरुलाई सकुशल र स्वथ्य बनाएर घर ल्याउनुपर्‍यो । बोर्डरबाटै टेस्ट गरे सम्बन्धित प्रदेशको पालिकामा ल्याएर अवस्था हेरी होम तथा सरकारी क्वारेन्टाइनमा राख्न सकिन्छ । बोर्डरमै र्‍यापिड टेस्ट गरेर क्वारेन्टाइनमा राखेर ल्याउने र सम्बन्धित पालिकामा ल्याएर पीसीआर टेस्ट गर्न पनि सकिन्थ्यो ।

हाम्रो मुख्य कुरा के हो भने भारतले नै टेस्ट गरेर सम्बन्धित पालिकासम्म पुर्‍याउने ब्यवस्था मिलाओस् । उसले त्यसो गर्दैन भने संघीय सरकारले आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति बोर्डर क्षेत्रमै टेस्ट गर्ने, क्वारेन्टाइनमा राखेरमात्र पठाउने काम गरोस् । सम्बन्धित प्रदेशका जिल्ला अधिकारीमार्फत समन्वय गरी सम्बन्धित ठाउँसम्म पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता हो ।

टेस्ट नगरिकन मनपरी भित्र्याइयो भने यहाँ छन्, भयावह अवस्था आउन सक्छ । भारत र संक्रमित जिल्लाबाट पनि लुकिछिपी आउने क्रम रोकिएको छैन ।

निर्माण आयोजनाहरुमा मजदुर ल्याउने भनिएको छ, उनीहरुको पनि टेस्ट नगरी ल्याउनु हुन्न भनेका छौं । अहिलेसम्म गोरखा र स्याङ्जामा हो, बाहिरबाट मजदुर आएको छ । हामीले मुख्य नाकामा कडाइ गर्न भनेका छौं तर लुकेर नाका छलेर मानिसहरु प्रदेश प्रवेश गरिरहेका छन् ।

अहिले जति पनि नेपालमा कोरोनाको संक्रमण देखिएको छ तीमध्ये अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा पुगेकाहरु छन् ।

सुरुमा केही अन्य विदेशबाट आए पनि अहिलेको मुख्य चुनौती भारत नै बनेको छ । नाकामा नेपालीलाई अलपत्र पर्ने, बिना परीक्षण नेपाल भित्र्याएर छाड्ने हो भने यो कोरोना संक्रमणको स्थिति धेरै बढ्न सक्छ ।

संघीय सरकारले सीमामा रहेका नेपालीको स्वास्थ्य परीक्षण गरी, क्वारेन्टाइनको ब्यवस्था गरेर सम्बन्धित पालिकासम्म पुर्‍याउने ब्यवस्था मिलाओस् । नत्र, कोरोना संक्रमण भित्रभित्रै अरु बढी फैलिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment