Comments Add Comment

भारतस्थित मामाघरबाट आएका थिए पर्साका १५ महिने संक्रमित बालक

१ जेठ, काठमाडौं । पर्सामा बुधबार राति पुष्टि भएका तीन जना कोरोना संक्रमितमध्ये एक जना १५ वर्षीय बालक रहेको पाइएको छ ।

उनी भारतको पश्चिम चम्पारणको सुगौलीस्थित मामाघरबाट वैशाख १७ गते आमासँगै कालिकामाई गाउँपालिका १ स्थित मुड्लीमा आफ्नो घर आएका थिए ।

भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परीक्षण गराउन पठाएको थियो ।

गाउँपालिकाका अध्यक्ष नथुनीप्रसादले अनलाइनखबरसँग भने, ‘आइतबार आमा–छोरो दुवैको नारायणी अस्पतालमा स्वाब संकलन गरिएको थियो । बुधबार राति छोराको रिपोर्ट पोजेटिभ र आमाको रिपोर्ट नेगेटिभ आएको थाहा भयो ।’

बालकमा कोरोना पुष्टि भएपछि उनीसँगै उनको ६ जना परिवारलाई वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए । संक्रमित बालकको परिवारमा आमा–बुबासहित ६ जना सदस्य छन् । सबै जनाको स्वाब संकलनको लागि वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए ।

संक्रमित तीनै जना वीरगञ्जकै बासिन्दा भएको बताइए पनि खोजतलास गर्ने क्रममा एक जनालाई फेला पार्न सकिएको थिएन । तर बीरगञ्जको मुर्लीमा कोही पनि संक्रमित नरहेको पाइएपछि खोजी गर्दा कालिकामाई गाउँपालिका–१ मुड्लीका १५ महिने बालक संक्रमित रहेको पाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

संक्रमित बालकलाई वीरगञ्जको सिद्धार्थ माविको आइसोलेसन कक्षमा ल्याएर भर्ना गरिएको बस्नेतले बताए । आमा–छोरा दुवैको स्वाब परीक्षण गरिए पनि आमाको रिपोर्ट भने नेगेटिभ आएको बस्नेतले बताए ।

बस्नेतका अनुसार अहिले विद्यालयमा निर्माण गरिएको आइसोलेसन कक्षमा १७ जना कोरोना संक्रमित रहेका छन् । नारायणी अस्पतालमा भने ७० जना संक्रमित आइसोलेसनमा रहेको उनले बताए ।

पर्सामा बुधबार राति पुष्टि भएका कोरोना संक्रमितमा १५ महिने बालकसहित ३६ वर्षीया नर्स र अर्का एक जना ७४ वर्षीय पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment