Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रको पुरानो सवारी पास रद्द, गृहले नयाँ पास दिएन

१ जेठ, काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले अनलाइनखबरलाई बताए ।

‘सहमति लिएर मात्रै पास दिनुपर्ने थियो, हामीले सुरुमा नलिई दियौं,’ उनले भने, ‘अहिले फेरि सहमतिका लागि प्रक्रिया अगाडि बढाएका छौं ।’

गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरले बताए । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किन चाहेका छन् । उनीहरुका साथमा पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा रानी निजी प्रयोजनमा गत चैत २ गते झापा गएका थिए ।

चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेनन् । उनीहरुका साथमा पूर्वाराजाका निजी सचिव सागर तिमल्सिना पनि छन् । झापामा पूर्वराजपरिवारको चियावगान छ । अहिले उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।

पूर्व राजारानी लकडाउनको पूर्ण पालना गरेर बसिरहेको संवाद सचिव पाठकले बताए । पूर्व युवराज्ञी हिमानी भने आफ्ना छोराछोरीहरुसहित बैंककमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment