Comments Add Comment

मृग शिकार गरेको आरोपमा गोरखामा सात जना पक्राउ

२ जेठ, गोरखा । रतुवा मृगको शिकार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिका–८ सिउरेनीटारका खुमबहादुर माझी, मधु भुजेल, दुर्गाबहादुर भुजेल, शिव रेग्मी, पूर्णबहादुर माझी, डिबी सापकोटा र रोल्पा घर भई हाल सिउरेनीटार बस्ने इन्द्रजित ओलीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

जंगलमा मृगको शिकार गरी घरमा ल्याएर काटिरहेको अवस्थामा प्रहरीले गत आइतबार खुमबहादुरलाई पक्राउ गरि मृगको मासुसहित डिभिजन वन कार्यालयलाई बुझाएको थियो ।

अनुसन्धानको क्रममा शिकार गर्न सहभागी भएको पाइएपछि बाँकी छ जनालाई पनि नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत तोयानाथ पौड्यालले बताए ।

नियन्त्रणमा लिइएकाहरुलाई वन ऐन २०७६ को दफा ४९ (त) अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनास्थलबाट बरामद गरिएको मृगको मासु स्थानीय जनप्रतिनिधिको रोहवरमा कार्यालय परिसरभित्र गाडिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment