Comments Add Comment

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ संक्रमित

४ जेठ, लण्डन । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिबार (१६ मे २०२०) साँझसम्मको हो ।

सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरूको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्विडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

कोरोना भाइरसका कारणले यो सातामात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरूको संख्यामा युकेमा १२, युएईमा ३, साउदी अरबमा दुई र नेपालमा एक रहेको स्वास्थ्य समितिले जनाएको छ ।

डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार सात सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरू कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, युकेमा एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

यसैगरी, साउदी अरबमा छ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रभावित देशहरुमा राहत वितरण

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ बाट प्रभावित देशहरूमा राहत वितरण पनि गरिरहेको जनाएको छ ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४९ देशका तीन सय सहरहरूमा एक हजार छ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरू परिचालन गरिएको छ ।

संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीहरूले प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् ।

मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरू तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरूको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड-१९ उच्चस्तरीय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरी विश्वभर राहतको लागि अभियान सञ्चालन गरेको एनआरएनएको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment