News Summary
Generated by OK AI. Editorially reviewed.- स्तन क्यान्सरबारे जनचेतना फैलाउन इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालले असोज १७ गते काठमाडौंको बसन्तपुरदेखि पाटन दरबार स्क्वायरसम्म ‘पिंकवाक २०२६’ आयोजना गर्ने भएका छन्।
- कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, संघसंस्था, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने आयोजकले जनाएको छ।
- इन्फिनिट केयर्सका दिजुप तुलाधरले ‘पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो।’ भनेका छन्।
३१ भदौ, काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्त्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार बिहान ६ बजे सुरु हुनेछ। सहभागीहरूले काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन्।
पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ। साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति तथा परिवारलाई सामाजिक र भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ।
इन्फिनिट केयर्सका इकाइ प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।
‘पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्त्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो। सबैलाई पिंकवाक २०२६ मा सहभागी भई यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गर्दछौँ,’ तुलाधरले भने।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेसनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, ईसेवा, ह्याप्पी माइन्डस् र डब्लूओडब्लू (वर्ल्ड अफ विमेन) को साझेदारीमा आयोजना हुँदैछ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना भएको थियो। त्यस क्रममा ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसम्बन्धी जानकारीमूलक सामग्रीसहित नक्सालको नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए।
प्रतिक्रिया 4