Comments Add Comment

सैनिक पोशाक लगाएर सवारी चलाउनेमाथि जंगीअड्डाको छड्के

सैनिक पोशाकमा होटल चलाउने व्यक्ति पक्राउ

४ जेठ, काठमाडौं । नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ । अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकमा सडकमा निस्किन थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच थालेको हो ।

जंगीअड्डाको उच्च तहको निर्देशनमा सैनिक प्रहरी गणले उपत्यकाका विभिन्न स्थानमा टोली पठाएर छड्के जाँच गर्न थालेको हो ।

जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि विभिन्न स्थानमा सैनिक प्रहरी परिचालित गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विभिन्न ठाउँमा खटिएको टोलीले सैनिक पोशाक लगाएको व्यक्तिको चेकजाँच गर्नेछ ।’

आइतबार महाराजगञ्ज क्षेत्रमा खटिएको टोलीले सैनिक पोशाक लगाएर होटल चलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशिल खड्का छन् । उनी सेनाको सैन्य आधार तालिममै रहँदा ०६८ सालमा भागेको भगौडा रहेको जनाइएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको सैनिक प्रहरी स्रोतको भनाइ छ ।

यस्तै अन्य केही शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको सैनिक स्रोतको दाबी छ ।

लकडाउनको समयमा अवकाश प्राप्त सैनिक अधिकृत पनि पद वहालीमा रहँदाको पोशाक लगाएर बाहिर निस्किने गरेको सूचना जंगीअड्डासम्म पुगेको छ । सैनिक पोशाकमा हिँडेपछि चेकजाँच नहुने भएकाले दुरुपयोग बढेको हो ।

यो पनि पढ्नुहोस अपराधमा संलग्न सैनिकमाथि कसरी हुन्छ अनुसन्धान ?

टोलीले सैनिक पोशाक नलगाएको व्यक्तिको भने चेकजाँच र खनतलासी लिँदैन । किनकि, संकटकाल घोषणा गरेको अवस्थामा मात्र सेनाले नागरिकको खनतलासी गर्न सक्छ ।

नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि १५ साउनमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै त्यसमा रोक लगाउन भनेको थियो ।

गृहले सैनिक पोशाकसँग मिल्दो कपडा लगाएर अपराधिक क्रियाकलापमा पनि विभिन्न व्यक्ति संलग्न भएको पाइएको जनाएको थियो । जंगीअड्डाले पनि वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेको भन्दै आपत्ति जनाएको थियो ।

क्वारेन्टाइनमा बसेर काम गर्छन् सैनिक

टोलीले विदामा गएका सैनिक अधिकृतको पनि सूची बोकेर छड्के जाँच गरिरहेको छ । जंगीअड्डाले मुख्यालयमा कार्यरत सैनिकको आवतजावतलाई निरुत्साहित गर्न १२ चैतबाटै कर्मचारीलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको थियो ।

सैनिक स्रोतले भन्यो, ‘अत्यावश्यक सैनिक अधिकृतहरु छुट्टाएर १५/१५ दिनको सिफ्टमा गरेर क्वारेन्टाइनमा बसेर काम गरिरहेका छौं ।’ सेनाले विदाबाट आएका कर्मचारीलाई पनि कोरोना परीक्षण गरेर मात्र ब्यारेकमा पठाउने गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सम्पूर्ण सैनिक अधिकृतलाई संकटमा परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफू जोगिनुपर्ने भन्दै दश बुँदे निर्देशन जारी गरेका छन् । उनले भनेका छन्, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौति दुवै हो । बहादुरी होइन, बुद्धि विवेकको प्रयोग गर्नुस् ।’

थापाले ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च सेवाभाव देखाउन’ पनि निर्देशन दिएका थिए । उनले विसञ्चो भए घर वा ब्यारेकमा बस्न भनेका छन्, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आइसोलेसनमा बस्न पनि निर्देशन दिएका छन् ।

हालसम्म नेपाली सेनाका एक जना उपरथीसहित दुई जनालाई कोरोना संक्रमण भइसकेको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment