Comments Add Comment

साथी ! गाउँ बदलिएको छ

साथी ! तिम्रो गाउँ बदलिएको छ
सभ्यताको मूल त्यो जन्मस्थान
तिमीले सोचेभन्दा भिन्न छ
विकासले हुन सक्छ
विनाशले हुन सक्छ
शान्ति, भ्रान्ति, क्रान्ति, उन्नति वा अवनतिले पनि
जे होस्, तिम्रो हिजोको गाउँ छैन
हो, आज गाउँमा सबैथोक बदलिएको छ ।

तिम्रो गाउँको रूपरङ्ग नै बदलिएको छ
सामूहिकता र सामाजिकता भेटिने
परिवार, नाता, छिमेकी र विश्वास सम्झाइदिने
तिम्रो गाउँ त आधुनिक होइन उत्तर आधुनिक भइसक्यो
स्वेच्छाचारिता र पुँजीवाद छिरेर हुन सक्छ
समयले दिएको समृद्धिले हुन सक्छ
परनिर्भरताले पनि हुन सक्छ
ती भरोसा, समन्वय र एकताका
बाल्यकालीन स्नेहिल यादहरू नभेटिने गरी
तिम्रो गाउँ त पूरै बदलिएको छ ।

तिम्रो गाउँको दैनिकी बदलिएको छ
याद आइरहने खेतबारी, ढिकीजातो, गाउँबेसी
अनि धान-पराल, दाउरा-घास
नाचगान, अर्मपर्म अनि बाह्रमासाका धुन
अशिक्षा, भोकमरी र साहुका बैगुन
सट्टामा आज नयाँ साहु वा मालिक छन्
नयाँ रोग, आकाङ्क्षा र समस्या छन्
कहिल्यै नभोगेका, नदेखेका, नसुनेका
हराएको मौलिकता, प्राकृतिकता र सहजता
थपिएको आलस्य, भौतिकता र विलासिता
सही गलत तिमी आफै आई छुट्याऊ
तर गाउँ देखिने गरी बदलिएको छ ।

तिम्रो गाउँको जीवनशैली बदलिएको छ
स्कुल जाँदाको कोसौँ यात्रा
मकै, भटमास, आटो, ढिँडो
खोले, साग, सिस्नु, बेथे र न्युरोको स्वाद
तिजु, काफल, इमिली, ऐसेलु अनि खनायो
प्रतिस्थापित यिनीहरू विलुप्तप्रायः छन्
वार्ड वार्डमा स्कुल, स्वाथ्य चौकी र बैङ्क
खोलामा पक्की पुल, टोलमा प्रहरी चौकी
छेवैमा बजार र आयातित जिब्रे परिकार
बाँझो सिरुबारीमा चाउचाउ चपाउँदै
गाउँले सहरियामा उलटपलट भएछन्
हेर्दाहेर्दै आज गाउँको स्वरूप नै बदलिएको छ ।

तिम्रो गाउँको श्रमशीलता बदलिएको छ
गोठ, खेत र बारीमा शोभायमान परिदृश्यहरू
रातदिन श्रमरत आमाबुबा र बाजेबजैहरू
सिर्जनाले भरिएका ससाना जमिनका टुक्राहरू
अदृश्य र विलुप्त छ, सुनसान र निर्जन छ
वृद्ध, अशक्त र रुग्णहरूको बादलभित्र
खेतालो जन्ती र मलामीको अभावमा
सन्तानको पलायन र आलस्यतामा
विप्रेषण र बृद्धभत्ता बुझ्दै
आश्रयहीन, गतिहीन अनि अस्तित्वहीन
कठै ! तिम्रो गाउँको पहिचान बदलिएको छ ।

तिम्रो गाउँको स्वच्छता बदलिएको छ
गोरुले विउ खाँदा वा साँधमा घास काट्दा हुने झगडा
पधेरी र चौतारीमा हुने टीकाटिप्पणी
अचानक फैलने महामारी
गद्दार वा भ्रष्ट वा चरित्रहीनलाई दिइने दण्ड
वास्तवमा गाउँले यी क्रिया छाडिसकेछ
सचेत सहरी फोहोर र प्रदूषण
ठेक्का, अनियमितता र घुसखोरी
आतङ्क, ठगी र अपराध
सबथोक भित्रिन थालेछ
तिम्रो गाउँको सुकिलो चरित्र नै बदलिएको छ ।

तिम्रो गाउँको स्वत्व थाहै नपाइ बदलिएको छ
मुर्ख भनौँ शैक्षिक जागरण आइसक्यो
बिचरा छैनौ देशविदेश पुगिसक्यौं
ज्ञानी, सहरिया, बाचाल, चतुर अनि छट्टुपन
जान्नुबुझ्नुपर्ने सबै रणनीति र कूटनीति
यतिबेला गाउँमा भौतिक सम्पन्नताको कमी छैन
जातपात, शोषण उत्पीडनको कुनै मार छैन
भोकमरी, रोगव्याधी, बाढी पहिरोको कहर छैन
गाउँमै सरकार छ
गाउँमा योजना, स्रोत र साधन छन्
गाउँ कहाँ त्यही हो र
गाउँमा सवथोक छ
केबल त्यो गाउँमा तिमी छैनौं
किनकि आज तिमीविनाको गाउँ अनौठोसँग बदलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment