Comments Add Comment

कोरोना ‘रोक्न’ काठमाडौंका भित्री गल्लीमा बाँसको तगारो !

४ चैत, काठमाडौं । दुई महिनादेखि जारी लकडाउनका कारण काठमाडौं उपत्यका ठप्प जस्तै छ । मानिसहरुको आवत जावत लगभग रोकिएको छ । गृह प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ ।

तर काठमाडौंको प्युखा न्यूरोड लगायतका भित्री गल्लीमा मानिसहरुमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कम भएको छैन । त्यसैले गल्लीगल्लीमा उनीहरुले बाँसको तगारो राखेका छन्, स्थानीय बाहेक अरुलाई नआउन सूचना टाँसिएको छ । र, चोकचोकमा लाठो लिएर बसेका छन् ।

मानिसहरु जिउ तन्काउनभन्दा बाहिर निस्कने र एउटा टोलीबाट अर्को टोलसम्म पुग्ने गरेको भन्दै स्थानीय युवाहरुको तर्क छ ।

‘मानिसहरुको अनावश्यक आवतजावतले असुरक्षित भयौं भनेर स्थानीय युवाहरुले स्वस्फर्त यस्तो गर्नु भएको हो’ काठमाडौं २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले अनलाइनखबरसँग भने, ‘यसरी सुरक्षित भइन्छ भन्नेमा हाम्रो सहमति छैन ।’

शनिबार मात्र १० भन्दा बढी स्थानीय क्लब तथा समूहको बैठक राखेर यसो नगर्ने सहमति गरेको तथा महानगर प्रहरीलाई पनि त्यस्ता अवरोध हटाउन भनेको उनले सुनाए ।

तर अहिले पनि भित्री गल्लीहरुमा हटेको छैन । यसरी बाटो छेक्दा अत्यावश्यक काममा हिँडडुल गर्न मात्र होइन, चाहिएको बेला एम्बुलेन्स, दमकल आउन समेत अवरोध हुनसक्छ ।

काठमाडौं महानगरपालिकाले पनि यसरी बाटो अवरोध नगर्न आग्रह गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान ढंगोल भन्छन्, ‘लकडाउन भनेको बाटो छेकेर भिडभाड रोक्ने होइन, सबै घरभित्र बस्ने हो । त्यसैले यसरी बाटो नछेक्न हामी सबैलाई अनुरोध गर्छौ, ताकि इमर्जेन्सी पर्दा नप्ठ्यारो नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment