News Summary
Generated by OK AI. Editorially reviewed.- प्रमोद खरेल र परम्परा ब्यान्डले दसैंका अवसरमा असमको लोखरा र उदालगुरीमा दुई दिन सांगीतिक प्रस्तुति दिएका छन्।
काठमाडौं । नेपालबाट आसाम पुगेका लोकप्रिय गायक प्रमोद खरेल र उनको ‘परम्परा ब्यान्ड’ ले त्यहाँका नेपाली भाषीमाझ नेपाली संगीतको इन्द्रेणी छरे ।
दसैंको अवसरमा अक्टोबर १९ र २० मा असमका दुई फरक स्थानमा उनको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रमअन्तर्गत पहिलो दिन अक्टोबर १९ मा सोनितपुर जिल्लाको लोखरामा भव्य सांगीतिक धमाका भयो भने, अक्टोबर २० मा उदालगुरीमा दोस्रो कार्यक्रम भयो ।
लोखरामा स्थानीय बासिन्दाले असमिया संस्कृतिको प्रतीक ‘गम्छा’ ओढाएर र त्यहाँका नेपाली समुदायले ‘ढाका टोपी’ लगाइदिएर भव्य स्वागत गरेका थिए । त्यो क्षण स्मरण गर्दै गायक खरेलले आफू अत्यन्तै भावुक भएको अनुभव सुनाए।
स्थानीयका अनुसार लोखरामा यति ठूलो संख्यामा मानिसहरू सहभागी भएर सांगीतिक कार्यक्रम भएको पहिलो थियो ।
दुवै दिनको कार्यक्रममा स्टेजसम्म पुग्न गायक खरेललाई निकै हम्मे-हम्मे परेको थियो । मैदानमा खुट्टा राख्ने ठाउँसम्म थिएन । दर्शकहरूले स्टेज र बाहिरसमेत उभिएर उनको गीतमा मनोरञ्जन लिएका थिए ।
राति १ बजेसम्म पनि दर्शकहरूले त्यत्तिकै उत्साहका साथ आतिसबाजी, फायरिङ र रंगीचंगी लाइटिङको साथ भरपूर मनोरञ्जन लिएका थिए । दुई घण्टाभन्दा बढी समय चलेको सांगीतिक यात्रामा ब्यान्डले करिब डेढ दर्जन आफ्ना बहुचर्चित गीतहरू प्रस्तुत गर्यो । गायक खरेलका ओए झुमा, लाइदेऊ न मायाले, हङगामा भो कसम हङगामा भो, मेरो दिल छ पोखरामा, यो कुरा गोप्य नै राखौंला, सलल कर्णाली लगायतका गीत गाए ।
यसअघि सन् २०१८ मा आसामको पश्चिमी भागमा सांगीतिक यात्रा गरेका गायक खरेलले यसपटक भने मध्य आसाममा आफ्नो प्रस्तुति दिएका हुन् । नेपालबाहिर रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र मातृभूमिप्रतिको अगाध प्रेम आसामका नेपालीहरूमा झल्किन्थ्यो।
प्रतिक्रिया 4