Comments Add Comment

बारामा शैक्षिक तालिम केन्द्रलाई कोरोना अस्पताल बनाइने

५ जेठ, वीरगञ्ज । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र र सिञ्चाई डिभिजन कार्यालयको भवनलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।

उपमहानगरपालिका–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र वडा नम्बर–५ स्थित सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले दुवै स्थानमा ५०/५० शय्याको कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

कलैया उपमहानगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी तालिम केन्द्रलाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख राजेश राय यादवले जानकारी दिए ।

यादवका अनुसार सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउन प्रदेश सरकारको पनि लगानी रहने छ ।

नगर प्रमुख यादवले भने, ’आजैदेखि अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माण सुरु हुन्छ । सबै काम पूरा भएपछि कोरोना संक्रमितको उपचार अब यहीँबाट हुन्छ । कलैया अस्पतालको आइसोलेसनमा रहेका बिरामीलाई पनि यहीँ सारिने छ ।’

तालिम केन्द्रमा कोरोना अस्पताल निर्माण नहुन्जेल कलैया अस्पतालले प्रदान गर्दै आइरहेको नियमित सेवा कलैया र वीरगञ्जस्थित नारायणी अस्पतालले तोकेको दररेटमै बारा नर्सिङ होमबाट सेवा प्रवाहका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment