Comments Add Comment

बारामा कोरोना उपचार : गंगापुरमा अस्पताल, क्वारेन्टाइन पनि दोब्बर पारिने

५ जेठ, काठमाडौं । सोमबार करैयामाईका एक जना पुरुष संक्रमित थपिएपछि बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या ५ पुगेको छ । सोमबार पुष्टि भएका ३८ वर्षीय पुरुष पत्रकार हुन् । बारा जिल्लाको पहिलो संक्रमित जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान हुन् ।

बारामा अब कोरोना संक्रमित व्यक्तिहरूको परीक्षणको दायरा बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिले क्वारेन्टाइनको संख्या दोब्बर बनाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

बारामा हाल २८ स्थानमा ४६८ वटा क्वारेन्टाइन बेड र ४८ वटा आइसोलेसन कक्ष छन् । ३१४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोराना आशंका गरिएका व्यक्तिहरूको संख्या बढ्दा क्वारेन्टाइन अभाव हुनसक्ने भन्दै समितिले सबै स्थानीय तहहरूलाई क्वारेन्टाइन बेडको संख्या दोब्बर बनाउन अनुरोध गरेको हो ।

यति गर्दा पनि क्वारेन्टाइन बेड अभाव भएमा कुनै पनि सरकारी, सामुदायिक तथा निजी विद्यालय, क्याम्पस, होटल जस्ता भौतिक संरचनालाई उपयोग गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गंगापुरमा अस्पताल, अपुग भए सिँचाइ कार्यालयमा विस्तार

कोरोना संक्रमित व्यक्तिको उपचार गर्न गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा ५० बेडको अस्थायी अस्पताल बनाइने भएको छ । अस्पताल बनाउने प्रक्रियाको नेतृत्व र खर्चको व्यवस्थापन कलैया उपमहानगरपालिकाले नै मिलाउने छ ।

यदि गंगापुरमा बन्ने ५० बेडको अस्पतालले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएमा सिँचाइ कार्यालयको पुरानो भवनमा पनि अस्पताल बनाइने छ । त्यसका लागि डिजाइन स्टिमेटलगायतका कार्य तीन दिनभित्र पूरा गर्न कलैया उपमहानगर र पूर्वाधार विकास कार्यालयका प्राविधिकलाई समितिले जिम्मा दिएको छ ।

हाल चन्दननाथ गणले उपयोग गरेको सिँचाइ कार्यालयको भवनमा कोरोना अस्पताल विस्तार गर्दा लाग्ने ५० प्रतिशत खर्च कलैया उपमहानगरपालिकाले र ५० प्रतिशत खर्च सम्बन्धित प्रदेश तथा संघका सांसदहरूले व्यहोर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

कोरोना अस्पताल नबनिसकेकाले हाल कोरोनाका बिरामीहरूलाई कलैया अस्पतालमा राखिएको छ। ती बिरामीहरूलाई गंगापुरस्थित अस्थायी कोरोना अस्पताल बनिसकेपछि कलैया अस्पतालबाट स्थानान्तरण गरिने छ। बिरामी स्थानान्तरण भई खाली भएपछि कलैया अस्पताललाई डिसइन्फेक्सन गरेपछि मात्र आफ्नो नियमित सेवा सञ्चालन गर्न दिने निर्णय विपत् व्यवस्थापन समितिले गरेको छ ।

कलैया अस्पतालको सेवा बारा नर्सिङ्ग होमबाट

गंगापुरमा अस्थायी कोरोना अस्पताल निर्माण नभएसम्मका लागि कलैया अस्पतालले प्रदान गर्दै आएका नियमित सेवा कलैया अस्पताल/नारायणी अस्पतालले तोकेको दररेटमा बारा नर्सिङ्ग होमले मिलाउने छ । त्यसको प्रक्रिया अगाडि बढाउन कलैया अस्पताल तथा बारा नर्सिङ्ग होमलाई बैठकले निर्देशनसमेत दिएको प्रजिअ पण्डितले जानकारी दिए ।

गंगापुरस्थित ५० बेडको अस्थायी कोरोना अस्पतालमा काम गर्ने कर्मचारीको व्यवस्थापनका लागि ५० प्रतिशत जनशक्ति कलैया अस्पतालले उपलब्ध गराउने र २५ प्रतिशत जनशक्ति विभिन्न स्थानीय तहहरूमा कार्यरत जनशक्तिबाट र २५ प्रतिशत जनशक्ति पदपूर्ति गरी खटाउने निर्णय पनि भएको छ ।

प्रजिअ पण्डितका अनुसार बारा जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको स्वाबको नमुना संकलन गर्न हाल दुई जनाको एउटा टोली मात्र छ । त्यसैले कलैया अस्पतालमा तालिम लिएका तीनमध्ये दुई जनालाई स्थानीय तहमा रहेका ल्याब प्राविधिकहरूलाई तालिम दिने व्यवस्था मिलाउने र संकलन गरिएका स्वाब परीक्षण स्थलसम्म पुर्‍याउन दुई वटा गाडीको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।

परीक्षणको दायरा बढ्दै गएको भन्दै तत्काल १५ सय किट भीटीएम र ५ सय थान आरडीटी किट उपलब्ध गराउन समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारको कोभिड–१९ सचिवालयसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment