Comments Add Comment

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको प्रस्ताव

फाइल तस्वीर

५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् ।

मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु ।’

मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउन सांसद कार्कीले सुझाव दिए । नेता कार्कीले अमेरिकी सहयोग नियोग (एमसीसी) लाई सत्तारुढ दलभित्रको विवादको विषय बनाउन नहुने पनि बताए । ‘एमसीसी चाँडै सदनमा पेश हुनेछ र घनिभूत छलफल हुनेछ’ उनले भने ।

कार्कीले प्रतिनिधिसभाको बैठकमा भारतीय साहित्यकार सर्वेश्वर दयालको कवितालाई नेपालीमा अनुवाद गरेर सुनाए ।

यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन
न ईश्वर, न ज्ञान न चुनाव
यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने
तिमी दोस्रो कोठामा सुत्न सक्छौं ?
यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने
तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ?
के तिमी यी कुराहरु सुन्नसक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नु केही छैन

पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने बताए ।

‘अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रित हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment