+
+
Shares

६ महिनासम्म बनेन भरतपुर अस्पतालको सिटीस्क्यान मेसिन

सुवास पण्डित सुवास पण्डित
२०७७ जेठ ५ गते १९:३६

५ जेठ, चितवन । केन्द्रीय अस्पतालको मान्यता पाएको चितवनको भरतपुर अस्पतालको सिटीस्क्यान मेसिन बिग्रिएको ६ महिना भयो, तर अहिलेसम्म बनेको छैन ।

गएको मंसिर महिनाबाट बिग्रिएको मेसिन जेठ लाग्दासमेत नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महँगो शुल्कमा सिटी गराउन बाध्य छन् । मेसिन नचल्दा बिरामीले त सास्ती पाएका छन् नै चिकित्सकहरुलाई समेत समस्या परेको छ । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका छन् भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा रिफर हुने गरेका छन् ।

भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाले सिटी गराउँदै आएका थिए । अहिले ती बिरामी बाहिर जानुपर्ने अवस्था आएको अस्पतालको रेडियोलोजी विभागमा प्रमुख डा. केशव पौडेलले बताए ।

उनले सिटी नहुँदा डायग्नोसिस गराउन नै समस्या भएको बताए । ‘अहिले त सिटी स्क्यान र एमआरआई अस्पतालको आधारभूत कुरा नै भइसक्यो’ डा. पौडेलले भने, ‘भरतपुर जस्तो अस्पतालमा यति लामो समयसम्म नबन्दा पक्कै पनि बिरामीलाई ठूलो मर्का परेको छ, चाँडै मर्मत होस् भन्ने चाहेका छौं ।’

अस्पतालले मेसिन बनाउने भन्दै टेण्डरको सूचनासमेत निकाल्यो तर पनि मेसिन बनेको छैन ।

अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख डा. गुणराज पौडेलले सिटी नहुँदा ठूला अप्रेसन गर्न नसकिएको र बिरामीहरु अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको सुनाए । ‘सिटी नभएपछि टाउको अप्रेसन गर्नु जोखिमपूर्ण हुन्छ गर्ने कुरा पनि हुँदैन’ डा. पौडेलले भने ।

उनले केहीलाई बाहिर सिटी स्क्यान गराएर भित्र ल्याएर सामान्य अप्रेशन गरिएको बताए । अन्य समयमा बहिरंग सेवा (ओपीडि) मा जाँच्ने काममात्रै भएको डा. पौडेलको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले लकडाउनका कारणले मेसिन बनाउन नपाइएको बताए । उनले लकडाउन खुलेको १० दिनभित्रै मेसिन मर्मत गरिने बताए । मेसिन मर्मतका लागि अस्पतालले टेण्डरसमेत गरेर सप्लाई गर्ने कम्पनीलाई नै जिम्मा दिइएको मेसु डा. तिवारीले बताए ।

वारेन्टी सकिएको पाँच महिनामै बिग्रियो मेसिन !

२०७४ जेठमा ६ करोड ४७ लाख रकम खर्चिर खरिद गरेको सिटी मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको हो । अस्पतालले १२८ स्लाइसको फिलिप्स कम्पनीको अत्याधुनिक सिटी मेसिन खरिद गरेको थियो ।

दुई वर्षको वारेन्टी २०७६ जेठमा सकियो । वारेन्टीभित्र बिग्रिए सम्बन्धित कम्पनीले नै ब्यहोर्ने उल्लेख छ । तर, सो समय कटेकोले मर्मतको सबै खर्च अस्पतालले गर्नुपर्दछ ।

अस्पतालले बार्षिक ५० लाख रूपैयाँ दिने गरी मर्मत सम्झौता गरेको छ । ‘जुन कम्पनीले मेसिन सप्लाइ गरेको थियो सोही कम्पनीलाई बार्षिक मर्मतको जिम्मा दिने गरी ठेक्का सम्झौता गरिसकेका छौं’ मेसु डा. तिवारीले भने, ‘हरेक महिनामा आएर मेसिन हेर्ने, सर्भिसिङ गर्ने र आवश्यक फिडब्याक दिने काम कम्पनीले नै गर्छ ।’

उनले मेसिन किन्दा नै यस्तो सम्झौता गर्नुपर्नेमा सो नभएकोले यसपटक बार्षिक सम्झौता गरिएको बताए । गत वर्ष पनि मेसिनमा समस्या आएकोमा कम्पनीले नै बनाएको उनले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?