Comments Add Comment

कोरोना सङ्क्रमण देखिएसँगै कर्णालीमा उच्च सतर्कता

६ जेठ, सुर्खेत । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६औँ दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका-१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको आग्राबाट गत वैशाख ३१ गते आफ्नै गाउँ पुगेका ती युवाको सोमबार सुर्खेतको कोरोना परीक्षण प्रयोगशालाबाट पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सो प्रयोगशालाले पुनः पुष्टिका लागि नमूना नेपालगञ्ज भेरी अस्पतालमा पठाएको थियो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती युवामा कोरोना पुष्टि भएको सार्वजनिक गरेको थियो । यससँगै प्रदेश सरकारले उच्च सतर्कता बढाएको छ ।

भारतको आग्राबाट हिँडेका उनीसँगको ३९ जनाको टोली ४१ दिन भारतको वनवासा क्वारेन्टाइनमा बसेर आएको र गत बैशाख ३१ गते नगरपालिकाको पहलमा उनीहरुलाई उद्धार गरेर ल्याइएको सो नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हामीले एक वडाबाट अर्को वडामा जान बन्द (सिल) गरेका छौँ र प्रदेश सरकारलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको छ ।’

नगरपालिकामा अहिलेसम्म ५२ जना आइपुगेको जनाउँदै उनले आठबीसकै नागरिक भारतमा दुई हजारभन्दा बढीको सङ्ख्यामा रहेको लगत राखिएको बताए । कोरोना पुष्टिपश्चात् उच्च सतर्कता अपनाइएको बताउँदै नगरप्रमुख उपाध्यायले भने, ‘हामीले नगरपालिकाभरि १९३ बेड सङ्ख्यामा क्वारेन्टाइन बनाएका छौँ । बिरामीसहित क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबल राख्न र केही परे सरकार छ भनेर हौसला दिएका छौँ ।’ उनका अनुसार सङ्क्रमित युवाको अवस्था सामान्य छ ।

यो पनि पढ्नुहोस कर्णालीमा कोरोनाको जोखिम : लकडाउनले नपुग्ने भन्दै कोरियन मोडेलको खोजी

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आठबीसका युवामा कोरोना पुष्टि भएपछि कन्ट्र्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिइसकिएको जानकारी दिए । भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकका लागि अनिवार्यरुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भइसकेको बताए ।

उनले भने, ‘अब हामीले क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्‍याउने सोच राखेका छौँ । बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउँदैछौँ । मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकीछिपी आउनेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै उनले यसमा सुरक्षा अवस्था कडाइ बनाइने जनाए ।

नागरिकको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको उनको भनाइ थियो । अहिलेसम्म सामान्यतः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसका लागि टेण्डर गरिसकेको, केही सङ्घीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उनले बताए ।

स्वास्थ्य सेवा निर्देशक रीता भण्डारी (जोशीले) सोमबारसम्म तीन हजार ३३६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए । सोमबार आठबीसका ३९ जनाको पीसीआर परीक्षणमा एकजना युवाको कोरोना पोजेटिभ देखिएको भन्दै उनले ती युवालाई आइसोलेशन राख्ने तयारी भइरहेको बताए ।

‘नमूना सङ्कलन भएका ३०० जनाको आजमात्र पीसीआर परीक्षण गर्दैछौँ’, उनले भने, ‘कालीकोट, हुम्ला, रुकुम, डोल्पा, मुगुलगयातका जिल्लाबाट पनि स्वाब सङ्कलन कार्य भइरहेको छ ।’ दैलेख आठबीसका समुदायको सघन जाँच आवश्यक नभएको भन्दै उनले कोरोना सङ्क्रमित ती युवासँग एउटै बसमा आएकाको कन्ट्र्याक्ट  ट्रेसिङ गर्ने तयारी भइरहेको बताइन् । उनका अनुसार प्रदेश सरकारको योजनाअनुरुप प्रत्येक वडाबाट नमूना स्वाब सङ्कलन कार्य निरन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment