Comments Add Comment

भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

७ जेठ काठमाडौं । यसवर्ष भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । नेपाल भलिबल संघले जेठ ८ गते भलिबल दिवस मनाउदै आए पनि यसपटक भने नमनाउने भएको हो ।

२०७४ साल जेठ ८ गते नेपाल सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको दिनलाई नै नेपाल भलिबल संघले भलिबल दिवसको रुपमा मनाउँदै आएको छ ।
भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको भोलि बिहीबार तीन वर्ष पूरा हुँदैछ । यसअघिको दुई वर्षमा संघले विभिन्न कार्यक्रम गरेर भलिबल दिवस मनाएको थियो ।

तर यसपटक भने विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा अहिले नेपाल लकडाउनमा रहेकोले कुनै कार्यक्रम नगरिने संघका अध्यक्ष मनोरन्जन रमण शर्माले बताए ।

‘अहिले महामारीको बेला छ । यस्तो बेला कुनै औपचारिक कार्यक्रम गर्न सम्भव छैन । अब सबैसँग सल्लाह गरेर सम्भव भए भिडियोमार्फत शुभकामना आदान प्रदान गर्ने छौँ ,’ शर्माले भने ।

तीन वर्षअघि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा दलजित विके श्रीपाली युवा तथा खेलकुद मन्त्री रहेको बेला सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यही दिन नै भलिबल दिवसका रुपमा चिनिन थालेको छ ।

सरकारले राष्ट्रिय खेलको मान्यता दिएको ३ वर्ष पूरा भए पनि अझै नेपाली भलिबलको संरचनागत रुपमा सुधार हुन सकेको छैन । २०७३ सालमा शर्माको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति आएपछि नेपालमा भलिबलको चर्चा बढेको पक्कै हो । अन्तर्राष्ट्रिय रुपमा पनि नेपालले यो बीचमा विभिन्न सफलता हासिल गरेको छ ।

नेपालको पुरुष टिमले माल्दिभ्समा भएको तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा तेस्रो हुँदै पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो । गत वर्ष महिला राष्ट्रिय टिमले बंगलादेशमा भएको पहिलो एभिसी महिला सेन्ट्रल जोन च्याम्पियनसिपमा अपराजित रहँदै उपाधि जित्यो । त्यही टोली घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा रजत पदक जित्दै अर्को उपलब्धि हासिल गर्‍यो ।

अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पार्न थाले पनि घरेलु भलिबलको संरचनामा अझै सुधार हुन बाँकी छ । प्रदेशस्तरमा भलिबलको गर्ने भनिए पनि त्यो अझै सञ्चालनमा आउन सकेको छैन । भलिबल संघको आफ्नो छुट्टै कभर्डहल नहुँदा पनि ट्रेनिङ र प्रतियोगिताहरु गर्नका लागि अझै समस्या छ ।

यस्तै भलिबलमा ग्रासरुटदेखि नै खेलाडी उत्पादन गर्ने प्रक्रिया सुरु हुन सकेको छैन । भलिबल संघले दुई वर्षअघि विद्यालय भलिबल संघ गठन गरेर उमेर समूह र विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि सहयोग पुग्ने विश्वास राखेको थियो । विद्यालय भलिबल कमिसनले एउटा प्रतियोगिता गरेपनि त्यसले निरन्तरता पाउन सकेको छैन ।

राष्ट्रिय खेल भएकोले भलिबल संघले यस पटक बजेटमा केही व्यवस्था हुने अपेक्षा गरेको छ । भौतिक पूर्वाधार निर्माण र ग्रासरुटदेखि नै खेलाडीको उत्पादन गर्नु अहिले भलिबलको मुख्य चुनौतीको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment