Comments Add Comment

दुई साताअघि मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

एउटै टोलका ९ जनामा संक्रमण

७ जेठ, बुटवल । कपिलवस्तुमा बुधबार पहिचान भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेका छन् । कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका रहेको खुलेको छ । त्यहाँका पाँच परिवारमा कोरोना संक्रमण भएको छ ।

एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्काे घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साताअघि ट्रक र पैदल यात्रा गर्दै लकडाउनकै बीचमा मुम्बईबाट नेपाल आएका हुन् ।

महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवालका अनुसार महाराजगञ्ज नगरपालिका-८ सिसवाका ७ जना र वडा नम्बर १ का दुईजना संक्रमित भेटिएका हुन् ।

९ जनामध्ये २ बालक, २ बालिका, ४ महिला र एक पुरुष रहेका छन् । यस्तै विजयनगर गाउँपालिकाका तीन पुरुषमध्ये २ पुरुष एकै घरका दाजुभाइ हुन् ।

महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले संक्रमित ९ जना क्वारेन्टाइनमै रहेका बताए । उनीहरु सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आरटी-पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको हो ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । महाराजगञ्ज नगरपालिकामा भेटिएका संक्रमित ९ जना नै २ साताअघि भारतको मुम्बईबाट घर फर्केका हुन् ।

१०८ जनाको स्वाब संकलन गरिएकोमा ९३ जनाको रिपोर्टमा आउँदा ९ जना संक्रमति भेटिएका हुन् । १५ जनाको रिपोर्ट आउन बाँकी छ ।

विजयनगर गाउँपालिकाका संक्रमित तीनजना नै गाउँपालिका- ६ जुडपानीस्थित रामशरण आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमित तीनै जना भारतको मुम्बईबाट फर्केर आएका हुन् । क्वारेन्टाइनका ४५ जनाको स्वाब परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment