७ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ ।
अम्पुनको अप्रत्यक्ष प्रभावले गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार चक्रवातका कारण प्रदेश १ र २ बढी प्रभावित हुने छन् । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने र पूर्व तथा मध्य क्षेत्रका खोलानालाहरुमा जलप्रवाह बढ्ने भन्दै विभागले सतर्क रहन सूचित गरेको छ ।
कुन प्रदेशमा कस्तो असर ?
मौसमविद मन्जु बासीका अनुसार अम्पुन नेपालमा सीधै प्रवेश गर्दैन । यसको सबैभन्दा बाहिरी घेराका बादलहरु नेपालमा प्रवेश गर्छन् । त्यसको अप्रत्यक्ष प्रभाव मंगलबारदेखि नै नेपालमा देखिइसकेको छ । बुधबार पनि नेपालको आकाश बादलले ढाकेको छ । यसबाट मुख्य प्रभावित प्रदेश १ का जिल्लाहरुमा हुरी, बतास, चट्याङसहित वर्षा हुने छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का धेरै स्थानमा बुधबार रातिदेखि नै हल्कादेखि मध्यम वर्षा हुने छ, जसका कारण कन्काई, कोशी र सुनकोशी बाहेकका सहायक नदीहरुमा जलसतह बढ्ने छ ।
बिहीबार र शुक्रबार कन्काई, कोशी र यसका सहायक नदीमा बहाव बढ्ने तर सतर्कताको तहभन्दा तलै रहने जानकारी गराउँदै बाढी पूर्वानुमान महाशाखाको सूचनामा लेखिएको छ, ‘ठूलो बाढीको जोखिम नभए तापनि नदीमा बहाव बढ्ने क्रममा रहने भएकाले नदी तटीय क्षेत्रमा गर्नु पर्ने कार्यहरु सतर्कताका साथ गर्नु हुन अनुरोध छ ।’
प्रदेश १ का सुनसरी, धनकुटा, मोरङ, झापा, इलाम, पाँचथर आसपास बुधबार रातिदेखि मध्यम वर्षा तथा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु र आसपासका जिल्लाहरुमा हिमपात हुने मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
प्रदेश १ का साना नदीहरुमा बिहीबार विहानदेखि बहाव बढ्ने तर धेरैमा जलसतह सतर्कताको तहभन्दा तलै हुने छ । तर ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, सुनसरी, धनकुटा, मोरङ, झापा, इलाम र पाँचथर भई बग्ने साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश २ का सप्तरी, सिराहा र आसपासका जिल्लामा पनि बुधबार रातिदेखि मध्यम वर्षा भएर जलसतह बढ्ने तर सतर्कताको तहभन्दा तलै रहने अनुमान छ । प्रदेश २ का अन्य जिल्लामा भने हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेशका धेरै जिल्लाहरुमा बुधबार राति र बिहीबार हल्का वर्षा हुने छ । तर बागमती, कमला लगायतका नदीहरुमा जलसतह सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अम्पुन चक्रवातको प्रभाव न्यून हुने भएकाले नारायणी, बबई, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा जलसतह सामान्य घटबढ मात्र हुने महाशाखाले जनाएको छ ।
भारतमा मानवीय क्षति
शक्तिशाली चक्रवात अम्पुन भारत पश्चिम बंगालको राजधानी कोलकातामा स्थानीय समयअनुसार दिउँसो पौने ३ बजेतिर जमिनमा ठोक्किएको थियो । जसको कारण पश्चिम बंगालका साथै ओडिसा लगायतका क्षेत्रमा तीव्र वेगको आँधी र भारी वर्षा भइरहेको छ । हुरीबताससँगैको वर्षाको कारण कम्तिमा तीन जनाको ज्यान गइसकेको छ । पूर्वसतर्कताअनुसार भारतको केन्द्र सरकार र ओडिसा सरकारले आपतकालीन उद्धार टोली परिचालन गरेका छन् । उनीहरुले करिब सात लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारेका छन् ।
भारतीय टेलिभिजन च्यानलहरुले रुखहरु ढलेर बाटो अवरुद्ध भएको र सुरक्षाकर्मीहरु पीपीई लगाएर उद्धारमा खटिएको दृष्य प्रसारण गरेका छन् ।
सुरुवाती वेग २१३ किलोमिटर प्रतिघण्टा रहेको यो चक्रवात कोलकाताको जमिनमा ठोक्किएपछि क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिएको छ ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार चक्रवातको शक्ति जमिनमा ठोकिएपछि कमजोर हुन्छ । बंगालको खाडीमा विकसित हुने चक्रवातले नेपालमा खासै धेरै असर पुर्याउँदैन र परिहालेमा पनि पूर्वी भूभागमा मात्र पर्ने मौसमविद मानन्धर बताउँछिन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4