Comments Add Comment

लोकसेवाको तयारीमा अन्योल कहिलेसम्म ?

शैक्षिक सत्र समाप्तिसँगै नयाँ वर्व २०७७ देखि सरकारी सेवामा प्रवेश गर्न चाहने र विगतका दिनदेखि यसैका लागि भनेर घोटिएर बसेका विद्यार्थीहरु लकडाउनको मारमा परेका छन् । अन्तिम घडीमा आएर लोकसेवाको परीक्षा स्थगित हुँदा सरकारी सेवामा आउन चाहने हजारौँ सङख्याका विद्यार्थीमा अन्योल र मानसिक विचलित अवस्था देखापरेको छ ।

सरकारले चैत्र ११ गतेदेखि हालसम्म लकडाउनको अवधि चरण चरणमा थप्दै आएको छ । महामारीको परिस्थिति सामान्य नहुँदासम्मका लागि एसईई, त्रिबि तथा लोकसेवा आयोग लगायतले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गराउँदै आएका छन् ।

एकातिर कोरोना संक्रमण दिन प्रतिदिन बढ्दैछ भने अर्कोतिर यसको अवधि कतिसम्म जान्छ भन्ने टुङ्गो छैन । यस्तो अवस्थाका बावजुद पनि लोकसेवाका परीक्षार्थीहरुले केही समयपश्चात परीक्षा हुने आशमा अध्ययनलाई निरन्तरता दिइराखेका छन् । यसवीचमा गत वैशाख १४ गते मन्त्रिपरिषदको वैठकले कोरोनाको कारणले सरकारको अर्थतन्त्र नाजुक रहेको भन्दै नयाँ हुने भनिएको तीनै तहको विज्ञापन बन्द गर्ने र प्रथम चरण पास गरिसकेका परिक्षार्थीको परीक्षा अर्को व्यवस्था नहुँदासम्मका लागि स्थगित गरेको छ । लोक सेवा आयोगकी प्रवक्ता गीता कुमारी हुमागाईले कोभिड-१९ साम्य भएलगतै लोकसेवा परीक्षा सञ्चालन गर्ने जनाएकी छिन् ।

राज्यको स्थायी संयन्त्रका रुपमा रहेको निजामति प्रशासनलाई कर्मठ, योग्य जागरुक ऊर्जावान वनाउन जनशक्ति पूर्ति गर्ने एकमात्र निष्पक्ष निकायको रुपमा लोकसेवा आयोगलाई चिनिन्छ । नेपालको संविधान भाग २३ मा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ, जसले निजामति सेवा, नेपाल प्रहरी सशस्त्र प्रहरी वल, नेपाल र अन्य संघीय सरकारी सेवाको रिक्तपदका लागी पदपूर्ति गर्न लिइने लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ ।

सार्वजनिक प्रशासनमा योग्यतामा आधारित दक्ष जनशक्ति भित्र्याउनु लोक सेवा आयोगको उद्देश्य हो । यस किसिमको कडा प्रतिस्पर्धा पास गर्नका लागि खास गरी आर्थिक स्तर निम्न भएका हजारौँ विद्यार्थी ऋण काढेर तयारी कक्षा पढ्न सदरमुकाम आउने गर्छन् । समयमा परीक्षा नहुँदा उनीहरुमा आर्थिक संकट देखापरेको छ । लकडाउनको अवधि दिनप्रतिदिन थपिदै जाँदा विद्यार्थीको पढाइप्रतिको उर्जा, आकर्षणमा ह्रास आईर् मानसिक तनावमा जान सक्ने प्रवल सम्भावना देखिएको छ र यसको प्रभावले परिवारमा कलह, झैझगडा, वैमनस्यता जस्ता कार्य सुरु भई.समाजमा अशान्ति निम्त्याउन सक्छ ।

प्रायजसो लोकसेवाको तयारी गर्दा बजारमा आएका सन्दर्भ सामग्रीकै आधारमा तयारी गर्नुपर्ने हुन्छ जसकारणले गर्दा विद्यार्थी सबै पुस्तकका पछाडि लाग्ने गर्छन् । किताव प्रकाशन गर्ने  पब्लिकेशन एवं प्रकाशकले पनि नयाँ विज्ञापनका आधारमा किताव छाप्पने गर्छन । अधिकांश विद्यार्थीले विज्ञापनलगत्त बजारमा आएका किताबलाई बढी प्राथमिकता दिने गर्छ । जसअनुरुप लेखक पनि विज्ञापनको पर्खाइमा किताब निकाल्ने तरखरमा लागेका हुन्छन् । हालको अवस्थामा मानिसको आवत जावत नै बन्दाबन्दी रहेको अवस्थामा पुस्तक लेखक एवं प्रकाशकले नयाँ किताव वजारमा ल्याउने अवस्था नरहेको जसले अन्योलता सृजना गरिदिएको छ । यसका साथै विज्ञापनपूर्व निकालिएका पुस्तकले राम्रो वजार नपाउनुले पनि लेखक एंवम प्रकाशन समेतलाई दोधार पैदा गराईदिएको छ । यसका साथसाथै पुस्तक छाप्नेदेखि बजारमा ल्याउने संयन्त्र पनि ठप्प छ । यसरी पढ्न चाहने विद्यार्थीले पनि पुरानै पुस्तकका आधारमा तयारी गर्नुपर्ने बाध्यता रहन जान्छ ।

नेपालको १४‌औं योजनाको तथ्य हेर्दा ६५ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको कुरा उल्लेख छ । यसले सबै ठाँऊमा ईन्टरनेटको पहुँच नरहेको कुरा देखाउँछ । लोकसेवा आयोग तयारीका लागी बिद्यार्थीले हजारौं रकम तयारीकक्षा सञ्चालन गर्ने संस्थालाई बुझाइसकेको अवस्थामा हालको स्थिति हेरेर कैयन संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरी केही राहतसम्म दिलाउने प्रयत्न गरिरहेका छन् । तर, पनि भौगोलिक हिसाबले यत्रतत्र छरिएका सबै विद्यार्थीहरु इन्टरनेटको पहुँचमा होलान भन्न सकिन्न जसले गर्दा न त विद्यार्थीहरुले अनलाइन कक्षाको फाइदा लिन सक्लान्, न त बुझाएको रकम फिर्ता पाउने सम्भावना नै ।

यसरी पहिलो चरण पास गरिसकेका र दास्रो चरणका लागि तयारी गरी बसेका परीक्षार्थीमा परीक्षाको मिति सर्दै जाँदा पढाइको गतिलाई समेत प्रभाव पार्ने देखिन्छ । लकडाउनको स्थितिले गर्दा राज्यकोे आर्थिक विकासमा प्रमुख हिस्सा लिने स्रोतहरु कृषि, उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार, मानव संशाधन सबै ठप्प रहेको अवस्था छ । कोरोनाको महामारीका कारणले गर्दा वाहृय देशहरु आन्तरीकरुपमा आर्थिक संकट झेल्नुपरेको अवस्था छ । उनीहरुको तर्फबाट देश बाहिरका मुलुकलाई अनुसन्धान, ऋण एवं सहयोग गर्ने सम्भावना न्यून हुन जान्छ । नेपालजस्तो विकासोन्मुख मुलुकलाई ठूलो संकट पर्न सक्ने विज्ञहरुले आकलन गरेका छन् ।

सरकारले कोभिड-१९ बाट सिर्जित संकटमा प्रशासनिक खर्च कटौती गर्न दुई दर्जनभन्दा वढी सरकारी निकायका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको छ । यसरी सबै संरचना बन्द भएको कारणले गर्दा राज्य सञ्चालनमा संलग्न निकाय एवं पदाधिकारीको सेवा सुविधा कसरी भर्ने चिन्ताको विषय भएको छ, साथसाथै रिक्त पदपूर्ति कसरी गर्ने भन्ने चुनौती आइपरेको छ ।

यिनै परिस्थितिले गर्दा विद्यार्थीहरुमा आगामी परीक्षा होला कि नहोला भन्ने ठूलो अन्योल सिर्जना भएको छ । कोरोनाको असर विद्यार्थीहरुमा आर्थिक र मानसिकरुपमा लामै समयसम्म रहने सम्भावना रहेको छ, यद्यपि वर्तमान अवस्थामा कोरोनाबाट बच्नु र बचाउनु नै प्राथमिक उपाय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment