
८ जेठ, काठमाडौं । बिरामी छोराको उपचार गराउन सोलुखुम्बुबाट ललितपुर आएका एक व्यक्ति ठगिएका छन् ।
पाटन अस्पतालमा छोराको उपचार गराइरहेका भत्तवीर राई ठगिएका हुन् । सहयोग गर्ने प्रलोभन देखाएर जयबहादुर घलेले उनलाई ठगेका हुन् । प्रहरीका अनुसार, मकवानपुर घर भएका घले कुसुन्ती बस्ने गरेकाे खुलकाे छ ।
ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीका अनुसार प्रकाश भनिने जयबहादुरले राईलाई पूर्व चिनजान रहेको विश्वास दिलाएर ठगी गरेका थिए । उनले रकम अपुग भए बैंकबाट निकालेर दिने भन्दै राईको साथमा रहेको एक लाख रुपैयाँ लिएका थिए । त्यसपछि फरार भएका घलेबारे उनले प्रहरीमा खबर गरेका थिए ।
सीसी टीभी फुटेजको विश्लेषण गरेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घलेको कोठामा प्रहरीले खनतलासी लिँदा ५३ हजार रुपैयाँ बरामद भएको छ भने घटनामा प्रयोग भएको स्कुटर पनि भेटिएको छ ।
घलेविरुद्ध ठगी सम्बन्धित कसुरमा अनुसन्धानका लागि ५ दिन म्याद थप भएको एसपी कार्कीले बताए ।
प्रतिक्रिया 4