Comments Add Comment

कपिलवस्तुका कोरोना संक्रमितलाई राज्यले विभेद गरेको गुनासो

चार बालबालिकासहित ८ संक्रमितलाई अस्पताल लगिएन

कपिलवस्तुको महाराजगञ्जस्थिक एक क्वारेन्टाइन

८ जेठ, कपिलवस्तु । मंगलबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तु महाराजगञ्जका ८ जनाले अहिलेसम्म उपचार पाएका छैनन् । महाराजगञ्ज नगरपालिकाका संक्रमित ४ बालबालिकासहित ८ जनाको बिचल्ली भएको छ।

संक्रमण भएको पुष्टि भइसक्दा पनि उनीहरूलाई महाराजगञ्जको जानकी माविको भवनमा राखिएको छ । संक्रमण भइसकेपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आइसोलेसन वार्डमा राख्नुपर्ने बिरामीहरूलाई सामान्य विद्यालयको एक कोठामा राखिएपछि जिल्लाभर त्यसको विरोध सुरु भएको छ ।

मानवअधिकार क्षेत्र सेवा केन्द्र इन्सेक, मधेश मानवअधिकार गृह कपिलवस्तु र कपिलवस्तु नागरिक समाजले तत्काल संक्रमितहरूलाई राज्यले प्रदान गर्ने उपचार सेवा दिन माग गरेका छन् ।

कपिलवस्तुमा देशकै सबैभन्दा बढी सात हजार पाँच सय जना क्वारेन्टाइनमा छन् । उनीहरूको जाँचका लागि किटसमेत उपलब्ध नगराएको केन्द्र र प्रदेश सरकारले अहिले संक्रमितको उपचारमा समेत विभेद स्थानीयको गुनासो छ ।

प्रदेश सरकारले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पताल ५० बेड क्षमताको छ । त्यहाँ अहिले ३६ जना संक्रमित उपचाररत छन् ।

मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना अस्पताल ५० शैय्याको छ । त्यहाँ हाल १६ जनामात्र संक्रमितहरू उपचाररत छन् ।

आवश्यक स्वास्थ्य सुविधासहितको आइसोलेसन अस्पतालमा ठाउँ खाली हुँदाहुँदै एउटा विद्यालयको कोठामा संक्रमितलाई कोचेर राख्नुले काठमाडौं‌लाई मात्र नेपाल ठान्ने पुरानो प्रवृत्तितर्फ सरकार गएको मानवअधिकारकर्मी रवि ठाकुरको आरोप छ ।

‘चारजना बच्चा र २ जना आमासहित ८ जना संक्रमित छन्, स्वास्थ्यकर्मीहरू नजिक जाँदैनन् । स्वास्थ्य अवस्था जाँच गरिएको छैन। विद्यालयमा स्वास्थ्य उपकरणसहितको सेवा छैन। खानपिन सुविधा छैन। सुत्ने राम्रो प्रवन्ध छैन। आपतकालीन अवस्थामा आवश्यक पर्ने तयारी छैन। अनि जबर्जस्ती बिरामीलाई राख्ने सरकारको यो कस्तो नियत हो ?’ उनले प्रश्न गरे ।

नेकपा महाराजगञ्जका नगर अध्यक्ष विजयप्रकाश जैसवालले कोरोना संक्रमित ८ जनालाई तत्काल स्वास्थ्य सुविधासम्पन्न आइसोलेसन अस्पताल लान माग गर्दै कपिलवस्तुका क्वारेन्टाइन र संक्रमितमाथि विभेदको गरिएको गुनासो गरे ।

‘कपिलवस्तुलाई सधैं पेल्ने ? हुँदाहुँदा संक्रमितलाई समेत अलपत्र पारेर छाड्ने ?’ जैसवालले प्रश्न गरे । सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख उमाशंकर चौधरीले बुटवल र दाङ दुवै स्थानमा बेड खाली रहेको बताए ।

उनले भने, ‘कोरोना संक्रमण व्यवस्थापन समितिका संयोजक प्रजिअ हुन्, उनीहरूलाई यहाँ किन ल्याइएन थाहा भएन । यसबारे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले हामीलाई जानकारी गराएनन्’ चौधरीले भने ।

उता प्रजिअ दीर्घनारायण पौडेलले भने संक्रमित सबै स्वस्थ रहेको र अहिले विद्यालयमै छुट्टै राखिएको बताए । उनले भने, ‘कुनै समस्या देखिएन, त्यसैले यहाँ राख्यौं ।’

तर, स्रोतका अनुसार प्रदेश सरकारले संक्रमित अझै बढ्न सक्ने हुँदा त्यहीँ व्यवस्थापन गर्न दबाब दिएको छ । आफ्नो क्षेत्रमा संक्रमित देखिए उनीहरूलाई उपचार गर्नका लागि नेताहरूले बेडहरू अकुपाई गरेर राखेको एक स्वास्थ्यकर्मीले दाबी गरे ।

संक्रमणको गति बढ्दै गएपछि आइसोलेसन अस्पतालहरू थप्न प्रदेश सरकारले पहल थालेको थियोे । आइतबार आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी (सोनाम) सहित संघीय र प्रदेश सांसदहरूको बैठकले कपिलवस्तु जिल्लाका ५ वटा स्थानमा आइसोलेसन अस्पताल स्थापना गर्ने र सोका लागि प्रदेशले सहयोग गर्ने निर्णय गरेको थियो ।

तर, बुधबार नै सामाजिक विकासमन्त्रीले प्रदेशले जिल्लामा स्थापना गरिने कोरोना अस्पताल (आइसोलेशन ) लाई कुनै आर्थिक सहयोग गर्न नसकिने जवाफ दिएपछि अहिले स्थानीय तहहरू अस्पताल निर्माण गर्ने योजनाबाट पछि हटेका छन् ।

प्रदेश सरकारलाई यशोधरा गाउँपालिकाका अध्यक्ष गिरीजेश पाण्डेको प्रश्न छ– ‘कपिलवस्तुका स्थानीय तहले ७ हजार व्यक्तिलाई क्वारेन्टाइनमा पाल्ने, आफैँ कोरोना जाँच गर्ने किट पनि किन्ने, राहत पनि आफैँ वितरण गर्ने अनि अहिले अस्पताल पनि आफैँ बनाउ भन्ने हो भने प्रदेशको के काम ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment