Comments Add Comment

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

८ जेठ, काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो ।

वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै मृत्युदण्डको सजाय तोकेको थियो । त्यहाँको सर्वोच्च अदालतले पनि सोही फैसला सदर गरेपछि उनलाई गोली हानी मृत्युदण्ड दिइएको हो । यद्यपि चौधरीले आफूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका थिए ।

उनलाई माफी दिलाउन प्रयत्न भए पनि मृतकका परिवारले अस्वीकार गरेपछि चौधरीले मृत्युदण्डको सजाय पाएका हुन् । सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका उनलाई कतारी नागरिकलाई खुकुरी हानेर हत्या गरेको आरोप लागेको थियो ।

अदालतले पनि कतारी नागरिकमाथि निर्मम तरिकाले खुकुरी हानेर चौधरीले हत्या गरेको ठहर गरेको थियो । कतारमा यसअघि पनि नेपाली नागरिकको हत्या अभियोगमा नेपाली कामदारलाई नै मृत्युदण्डको सजाय सुनाइएका छन् । तर, फैसला कार्यान्वयन भने भएको छैन ।

मृत्युदण्डपछि चौधरीको शव नेपाल पठाउन कतारले अनुमति दिइसकेको छ। चौधरीको परिवारलाई कतारस्थित नेपाली दूतावासले शव लैजाने व्यवस्था गर्न भनिसकेको छ । २०१५ अगस्ट अन्तिम साता कतार पुगेका चौधरी एक वर्कसपमा काम गर्थे। तर, उनी अब मृत्युदण्ड पाएर मृत अवस्थामा नेपाल फर्किनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment