Comments Add Comment

कृषि सामग्रीको उपलब्धतालाई प्राथमिकतामा राख्नुपर्छ : डा. शर्मा

९ जेठ, काठमाडौं । कोभिड १९ को सम्भावित क्षतिमा मलम लगाउन सरकारले कृषिलाई प्राथकितामा राख्नुपर्ने अर्थशास्त्री डा. शंकर शर्माले बताएका छन् । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव र आगामी बाटोबारे नेपाल उद्योग परिसंघ‌ले आयोजना गरेको भर्चुअल छलफलमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।

कोरोनाको विश्वव्यापी असरका कारण फर्कने युवालाई रोजगारी सिर्जना गर्न तथा भोकमरीको सम्भावित संकट चिर्न पहिलो उपाय कृषिकै विकास भएको डा. शर्माको भनाइ थियो । सरकारले अघि सारेको भूमि बैङ्कको योजना तत्काल सहज नभएको भन्दै उनले करार खेतीलाई प्रोत्साहन गर्न सरकारलाई सुझाए ।

‘भूमि बैङ्क सजिलो छैन, कानुनमा संशोधन गरेर करारमा जग्गा लिएर खेतीगर्न सक्ने र त्यसकालागि आर्थिक स्रोतमा राज्यले सहज गराइदिनु पर्छ,’ डा. शर्माले भने । प्रधानमन्त्री रोजगार र कृषि आधुनिकीकरण कार्यक्रमको कमजोरीहरू प्रशस्त आएको भन्दै उनले परियोजनाको डिजाइन सच्याएर रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।

‘दाताको लगानी आइसकेको परियोजनाबाट धेरैभन्दा धेरै रोजगारी र त्यसबाट उत्पादनलाई जोड दिनुपर्छ,’शर्माले भने । अहिले कृषिमा मल बीउ, र किटनाशकको आपूर्ति प्राथमिकता भएको भन्दै उनले ढुवानी व्यवस्था चुस्त बनाउन सरकालाई सुझाव दिए ।

त्यसका लागि ढुवानीकर्तालाई प्रोत्साहन र सुरक्षा तथा स्थानीय तहको सहजीकरण अपरिहार्य रहने शर्माको सुझाव छ । प्रदेश पाँचको कृषि एम्बुलेन्स सेवालाई राष्ट्रिय स्तरमा पुर्‍याउन पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment