Comments Add Comment

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

९ जेठ, काठमाडौं । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।

उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टिन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् ।

देशभर क्वारेन्टिनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टिनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गए ।

राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ । । विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट गरे ।

हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment