Comments Add Comment

हामी नेपाल फर्किने जहाजको पर्खाइमा छौं

हिजो घरबाट आमाले म्यासेन्जरमा फोन गर्नुभयो। टेलिफोनमा उहाँले भन्नुभयो “नानी आज आकाशमा हवाईजहाज उडेको देखियो। तिमीहरू त्यसमा आयौ कि भन्ने लागेर फोन गरेको।”

“त्यो त जापानी नागरिकलाई पुर्‍याउन गएको जहाज होला आमा” मैले जवाफ फर्काएँ।

आमाले पनि तत्कालै अर्को जिज्ञासा राखिहाल्नु भयो, “अनि अस्ट्रेलिया गएको भनेको हैन र ?”

“अस्ट्रेलिया त दुईचोटी आइसक्यो । तर, हामीलाई लिन आएको होइन” मैले भने ।

“नेपालबाट विदेशीहरूलाई उनीहरूको देश लैजानका लागि हवाईजहाजहरू उडिरहेको खबर पढ्न पाए पनि हामीलाई त्यसमा फर्कनका लागि तारतम्य मिलेको छैन । सरकारले पहल गरिरहेको छ” मैले बुझेकोजति आमालाई सुनाएँ।

विगत ६० दिनदेखि नेपालमा लकडाउन जारी छ । यता म छोरीसहित सिड्नीमा बेखर्ची भएर अड्किइरहेकी छु। नियमित सेवन गर्नुपर्ने औषधि सकिएको छ तर औषधि किनेर खानका लागि यहाँ सहज छैन । दैनिक अनलाइनखवर पढ\ने, वल्डोमिटरमा तथ्यांक हेर्ने र आकाशमा जहाजहरू उडेको हेर्दै बस्ने दैनिकी जस्तै बनेको छ। मानौं हामी एयरपोर्टमा कुनै जहाजको पर्खाइमा छौं ।

खुसीको कुरा सरकारले विदेशमा अलपत्र परिरहेका हामीजस्ता नेपाली नागरिकहरूलाई कसरी स्वदेश फर्काउन सकिन्छ भनेर छलफल गरिरहेको कुरा सञ्चारमाध्यमहरूमा आएको छ । स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले समेत विदेशमा अलपत्र परेका हामीहरूजस्ता नागरिकलाई ल्याउनका लागि पहल भइरहेको जानकारी संसदलाई गराउनुभएको खबर छ। छिट्टै घर फर्किन पाउने आशामा हामी बसिरहेका छौं।

फेरि पनि अस्ट्रेलियन नागरिकहरूलाई नेपालबाट उनीहरूको देश पुर्‍याउनका लागि भनेर नेपाल वायुसेवाको जहाज आउने कुरा समाचारमा आएको छ । अन्य देशहरूमा पनि नेपाल वायुसेवाको जहाजले ती देशका नागरिकलाई पुर्‍याउन लागेको खबरहरू आएका छन् ।

अलपत्र नागरिकलाई स्वदेश फर्काउनका लागि सुरुवात अहिले यही फ्लाइटबाट नगरे कहिले गर्ने प्लेन चार्टड गरेर अस्ट्रेलिया जाने तयारीमा लागिसक्यो । अब फर्किँदा यहाँ अड्किएका हामी नागरिक नलिइकन खाली फर्कियो भने सरकारले हाम्रा लागि फेरि विमान चार्टर गरेर उद्धार गर्छ भनेर < दुई पटक त खाली फर्किनै सक्यो ।ती जहाजहरूमा हामीजस्ता नेपाली नागरिकहरूलाई फर्काउनका लागि यसो गरे कसो होला जस्तो लागेर पाँचवटा कुराहरू भन्न खोजेकी छु।-

  • पहिलो कुरा, विदेशमा रहेका नेपालीहरू सबैजना एकैपटक नेपाल फर्किन खोज्छन् भन्ने कुरा सत्य होइन, जस्तो मलाई लाग्छ।

मैले चिनेका धेरै नेपालीहरू विदेशमा छन् । तर, उनीहरू सबै आजै र अहिल्यै हामीजस्तो नेपाल गइहाल्न चाहँदैनन् किनभने उनीहरूको त्यहाँ आ-आफ्नो पेसा- व्यवसाय छ । उनीहरूको आफ्नै व्यवहार छ । नेपालमा बरू संक्रमण बढ्दोक्रममा छ तर विदेशमा स्थिति सामान्य हुन थालेको छ । उनीहरूका पेसा व्यवसाय खुल्न थालेका छन् । तसर्थ, हामीजस्ता अलपत्र परेका नागरिकहरू मात्र जो अस्थायी रुपमा विभिन्न कामकाजका लागि आएका साथै केही दिन घुम्नका लागि आएकाहरू मात्र तत्काल फर्कन चाहन्छन् जस्तो लाग्छ । पहिलो चरणमा यसरी भिजिट भिसामा आएका हामीहरू जस्तालाई मात्र ल्याउने व्यवस्था गर्नु उपयुक्त हुन्छ कि जस्तो लाग्छ ।

  • दोश्रो कुरा, अरू देशले जस्तो नेपाल सरकारले विमान पठाएर नागरिक ल्याउनका लागि अलि समय र खर्च लाग्न सक्छ । तिनको व्यवस्थापनको खाका तयार गरेर ल्याउनुपर्ने भएकोले त्यसको लागि बढी समय र श्रम खर्च हुने भएकोले तिनीहरूलाई ल्याउन दोश्रो चरणको कार्ययोजना बनाउन उपयुक्त हुन्छ जस्तो लाग्छ । त्यसैले, विमान चार्टर्ड गरेर जापान र अस्ट्रेलियालगायतका देशका नागरिकहरूलाई उनीहरूको देशमा फर्काउँदै गर्दा त्यहाँबाट फर्किने बेलामा तत्-तत् देशमा अलपत्र परेका हामीहरूजस्ता नागरिकलाई पहिलो चरणमा ल्याउन उपयुक्त हुन्छ जस्तो लाग्छ । पहिलो चरणमा हामीहरू जस्ता भिजिट भिसाका नागरिकलाई ल्याउन सकिएमा सरकारलाई एउटा अनुभव पनि हुन्छ । जसले गर्दा सरकारको यस किसिमको व्यवस्थापकीय क्षमता र आत्मबल पनि बढ्न जान्छ।

अहिले चार्टर्ड गर्दा विदेशीले दुईतर्फी टिकटको पैसा तिरेका छन् । उनीहरूसँग नेगोसिएसन गरिएमा आधा हामीले तिर्दा उनीहरूलाई पनि सस्तोपर्छ साथै हामीलाई पनि सस्तो पर्छ । पछि दुईतर्फी नै तिरेर त्यही देशमा जहाज पठाउँदा हामीलाई भाडा महँगो पर्न जाने मात्र होइन । त्यही कामका लागि वायुयानलाई दुईपटक पठाउनुपर्ने हुन्छ बरू यो समयमा त्यो विमानलाई अर्को देशका लागि उडान गराउन सकिन्छ।

  • तेश्रो कुरा, कोरोनाको जोखिम कम भएका नागरिकहरूलाई स्वदेश फर्काउँदा एकातर्फ नागरिकहरू आफ्नो देश फर्कन पाई नागरिक सन्तुष्ट हुने र अर्कोतर्फ सरकारले नागरिकप्रतिको दायित्व निर्वाह भई सरकारप्रति नागरिकको सम्मान झन् बढ्ने छ। उदाहरणका लागि अस्ट्रेलियामा कोरोनाको संक्रमण शून्यप्राय: भई यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।त्यसैले अस्ट्रेलियामा रहेका नागरिकहरूलाई नेपाल फर्काउनका लागि संक्रमणको जोखिम शून्यप्राय: हुन्छ।
  • चौथो कुरा, जुन देशबाट नागरिकहरू नेपाल ल्याउने हो । त्यसदेशमा रहेका नेपाली दूतावासले अलपत्र परेका हामी नागरिकहरूको सूची तयार गरेर तिनीहरूको कोरोना परीक्षण गर्ने व्यवस्था गरी संक्रमण नदेखिएकाहरूलाई मात्र ल्याउन सकिन्छ ।

काठमाडौंमा उत्रिइसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरेर नागरिकको गच्छेअनुसारका साना/ठूला होटलहरूमा कम्तीमा दुईहप्ता क्वारेन्टाइनमा राख्न सकिन्छ । दुईहप्ता व्यतीत भएपछि पनि तिनीहरूको परीक्षण गरेर मात्र घर जान दिन सकिन्छ ।

  • पाँचौं कुरा, सरकारले निजी क्षेत्रलाई पनि संक्रमण परीक्षणको अनुमति दिएको खबर पनि पढ्न पाएकी छु । यसरी स्वदेश ल्याइने नागरिकहरूको कोरोना परीक्षणको जिम्मा पनि निजीक्षेत्रलाई दिन सकिन्छ । यसरी परीक्षणमा लाग्ने खर्च, हवाई भाडा र क्वारेन्टाइनमा लाग्ने खर्च एकमुष्ठ रकम टिकट काट्ने बेलामै लिनुपर्छ । सडकमा ट्याक्सीहरू लाइन लागेर बसेका हुन्छन् । तर, यात्रुहरू ठेलमठेल गरेर माइक्रोबसमा चढछन्, किन ? किनभने उनीहरूलाई बढी खर्च तिर्नु फाइदाजनक छैन । किनकि तिनीहरूलाई ट्याक्सीमै जानुपर्ने गरी जरुरी हतारो पनि छैन भन्ने बुझिन्छ।अहिले नेपाली नागरिकलाई नेपाल फर्काउने विषय पनि यस्तै हो । स्वास्थ्य परीक्षणको खर्च, चार्टर्ड हवाईभाडा र क्वारेन्टाइनमा बस्दाको खर्च जोड्दा सामान्य अवस्थामा स्वदेश फर्कन लाग्ने खर्चको तुलनामा तेब्बरभन्दा बढी हुन आउँछ।यसले गर्दा पनि सबै नागरिकहरू स्वदेश फर्किन चाहन्छन् जस्तो मलाई लाग्दैन । यदि उनीहरूलाई मैलेमाथि भनेजस्तै ट्याक्सी चढ्ने हतारो छैन भने उनीहरू माइक्रोबस नै पर्खिने छन् । जसलाई दोश्रो चरणको कार्ययोजना बमोजिम फर्काउन सकिन्छ । हामीलाई थाहै छ, जसरी अस्ट्रेलियन वा जापानी नागरिकहरूको स्वदेशफिर्तीमा लागेका सबै खर्चहरू ती यात्रुहरू स्वयंले तिरेका हुन् अर्थात् तिनीहरूको सरकारले तिरेको हैन । हाम्रो हकमा पनि त्यही हो।हाम्रो हकमा त झन् सरकारले तिर्न सक्ने कुरा पनि आउँदैन र नागरिकले त्यो आशा पनि गर्दैनन् ।

मानौं, तपाईं आफ्नो दैनिकी सकेर घर फर्किनका लागि स्टेसनमा गाडी पर्खिइरहनु भएको छ । साँझ पर्दै गएको छ । समयमा गाडी आइरहेको छैन भने त्यसबेला तपाईंको मनोदशा कस्तो हुन्छ। हो, त्यस्तै मनोदशा हामी जस्ता विदेशमा अड्किइरहेका नागरिकहरूमा भइरहेको छ ।

यस मनोदशामा हामी लामो समय पर्खिन सक्दैनौं । तसर्थ कृपया हामीलाई समयमै स्वदेश फर्काइदिनुहोस्हा । मीलाई हाम्रो देश, हाम्रो घर आउन दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment