Comments Add Comment

संकटमा रहेको अर्थतन्त्रलाई मौद्रिक उपकरणबाट सहजिकरण गर्छौं : गभर्नर

९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संकटबाट गुज्रिरहेको अर्थतन्त्रलाई मौद्रिक उपकरणका माध्यमबाट सहजिकरण गरिने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको ‘रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ, पोस्ट कोभिड १९ प्यान्डेमिक’ नामक अन्तक्र्रिया कार्यक्रममा गभर्नर अधिकारीले बजारको अवस्था सहज बनाउन मौद्रिक उपकरण जारी गरिने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले ब्याजको पुँजीकरण, ऋण वृद्धिलगायत सुविधाहरु समेत ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । यद्दपी कोरोनाबाट प्रभावित व्यवसाय तत्काल सुचारु हुने अवस्था भने नदेखिएको उनले उल्लेख गरे ।

नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा चुनौति पनि थपिँदै गएको उल्लेख गरे । मानव जीवनसँगै सम्पूर्ण व्यवसाय प्रभावित बनेको भन्दै अधिकारीले त्यसको पूर्ववत संचालनका लागि लेखा व्यवसायीको समेत योगदान रहने बताए ।

अन्तर्राष्ट्रिय र आन्तरिक श्रम बजार साँघुरिँदै गएको अवस्थामा संकट अझ गहिरो बनेको उनको भनाई छ । अनौपचारिक क्षेत्रका ४४ लाख मानिस यसको प्रभावमा परिसकेको उनको भनाई थियो । होटल र रेष्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्रले अबको १÷२ वर्ष अझै ठूलो समस्या ब्यहोर्नुपर्ने उनको अनुमान छ ।

गभर्नर अधिकारीले रेमिट्यान्स घट्न थालेको भन्दै यसले बैंक तथा वित्तीय संस्थामा तरलतादेखि बजारमा मागसम्म प्रभावित हुने उल्लेख गरे । वैदेशिक रोजगारीमा रहेका फर्कने सक्ने भएकाले यसले बेरोजगारीको समस्या अझै बढाउन आंकलन गरिएको छ । अधिकारीले रेमिट्यान्समा आएको गिरावटसँगै बाह्य क्षेत्र सन्तुलनमा समेत असर गर्ने उल्लेख गरे ।

भिडियो माध्यमबाट भएको कार्यक्रममा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रका महत्वपूर्ण पक्षहरुमा नराम्रो प्रभाव परेको बताए । कोरोनाको प्रभावसँगै कतिपय उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको र धेरैले रोजगारी गुमाउने अवस्था आएको उनको भनाई छ ।

अर्थतन्त्रलाई बचाउन र भविष्यमा पुनरोत्थान गर्न चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गर े। साना तथा मझौला उद्योगहरु पर्याप्त पुँजीको अभावबाट गुज्रने र त्यहाँ कार्यरत श्रमिक अझै जोखिममा पर्ने उनले बताए।

इन्टरनेशनल फेडेरेसन अफ एकान्टेन्ट्स का अध्य डा इन कि जुले आफ्नो संस्थाले अडिटिङ र रिपोर्टिङको कुनै निश्चित निर्देशिका जारी नगरे पनि सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले कोरोनाको वास्तविक प्रभावको अझै पहिचान नभएकाले यसका मापदण्डमा परिवर्तनका विषयमा पनि यकिन हुन नसक्ने उल्लेख गरे । अहिले इन्टरनेसनल एकाउन्टिङ स्टान्डर्डर्स बोर्डले जारी गरेको आइएफआरएस मापदण्ड कार्यान्वयनमा छ ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना भाइरसको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको बताए । उनले औद्योगिक क्षेत्रलाई अहिले ठूलो सहयोगको आवश्यकता रहेको र आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पु¥याउन सदस्यहरुलाई तालिम दिइएको उल्लेख गरे । अहिले प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र साइबर सुक्षारमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संङ्कटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुने धारणा राखेका थिए । उनले दक्षिण एसियाली क्षेत्रमा साना तथा मझौला व्यवसाय धेरै भएकाले त्यस्ता व्यवसयका लागि राम्रो परामर्शको आवश्यकता पर्ने उल्लेख गरे।

इंग्ल्याण्ड र वेल्सक चार्टर्ड एकाउन्टेन्टकी अध्यक्ष फिओना विकिल्सनले स्वास्थ्य संकट हुँदै अहिले विश्व आर्थिक संकटमा परेको बताइन् । उनले अहिलेको महामारीमा लेखा व्यवसायलाई व्यवस्थित बनाउनका लागि मार्गदर्शन तयार गरिएको जानकारी दिएकी छन् । उनले आफ्ना सदस्यहरुलाई सहजरुपले काम गर्न र महामारीमा कसरी काम गर्ने भन्ने विषयमा सुझाव पनि दिइरहेको उल्लेख गरिन् ।

कार्यक्रममा सिए अष्ट्रेलिया एन्ड न्युजिल्याण्डका अध्यक्ष पिटर रप, कापाकी कार्यकारी निर्देशक एलाइन हङ, सिपिए अष्ट्रेलियाका सल्लाहकार राम सुब्रमनियम, सीएबंगलादेशका उपाध्यक्ष सबिर अहमद, श्रीलंकाका चार्टर्ड एकाउन्टेन्ट डाचमारा बन्दरा, आइक्यानका उपाध्यक्ष मदनकृष्ण शर्मा लगायतले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment