Comments Add Comment

रुपन्देहीमा थपिए सातजना कोरोना संक्रमित

स्वाब पठाएको ९ दिनमा आयो रिपोर्ट

९ जेठ, बुटवल । रुपन्देहीमा सात जना कोरोना संक्रमित थपिएका छन् । सातैजना गैडहवा गाउँपालिकाको नवदुर्गा मावि ठाकुरापुर र जोगडा मावि जोगडाको क्वारेन्टाइनमा रहेका ७५ जनामध्येका पुरुष हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको ७५ जनाको पीसीआर टेस्टको रिपोर्टमा ७ जनामा पोजेटिभ देखिएको हो । ९ जनाको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।

उनीहरुको स्वाब जेठ १ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ९ दिनमा बल्ल रिपोर्ट आएको हो । यसअघि गैडहवाको जोगडा मावि क्वारेन्टाइनमा बसेका मध्ये एकै परिवारका नौजनासहित १० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका सातैजना लकडाउनका बेला भारतको मुम्बईबाट नेपाल आएका गाउपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । यो संगै पालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गैडहवाका चार क्वारेन्टाइनमा तीन सय भन्दा बढी क्वारेन्टाइनमा बसेका छन् । अझै करिब दुई सयजनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न बांकी रहेको पालिकाका अध्यक्ष केवटले बताए । यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ३६ जना पुगेको छ ।

आइसोलेसन छैन कहां राख्ने ? : पालिका प्रमुख

पालिकामा कोरोना संक्रमित बढेसंगै उनीहरुलाई थप उपचारका लागि राख्ने आइसोलेसन बेड भएका अस्पताल नहुंदा समस्या भएको गाउपालिकाका अध्यक्ष केवटले गुनासो गरे ।

भैरहवाको भीम अस्पताल र बुटवलको धागो कारखानाका आइसोलेसन बेड विरामीले भरिएकाले नयां संक्रमितलाई राख्ने ठाउं नभएको उनले गुनासो गरे ।

‘एकातिर संक्रमित बढेको बढ्यै गर्दा चिन्ता भएको छ,अर्कातिर संक्रमितलाई राम्रो ठाउंमा राखेर उपचार गर्न पठाउन सकिएको छैन’–केवटले भने–‘प्रदेश र केन्द्र सरकारले हामीलाई हेरेन,कस्लाई भन्ने होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment