Comments Add Comment

ज्यान त पाल्नै पर्‍यो…

६० दिनपछि काम पाउँदाको खुसी

१० जेठ, काठमाडौं । कोरोनाविरुद्ध जारी लकडाउनको ६० औं दिन । गोरखाका दलबहादुर नेपालीले लकडाउन सुरु भएको तेस्रो महिना सुरु हुँदै गर्दा शुक्रबार एउटा काम पाए । फलामको ग्रिल बोक्ने । त्यो पनि सतुंगलदेखि कुलेश्वरसम्म ।

एउटा रिक्सा थियो । रिक्सा पनि पछिल्लो दुई महिनादेखि कामविहीन थियो । घरमा थिए एक छोरा, एक छोरी र श्रीमती ।

रोगको त्रासका बीच आफूसहित सन्तानको भोक मेट्नको लागि उनले दुई महिनापछि पाएको एउटा कठिन कामलाई अग्निपरीक्षाको रुपमा लिएर त्यो काम स्वीकार गरे । काठमाडौंको ढुंगेअड्डा क्षेत्रमा आइपुग्दासम्म पनि उनको अनुहारमा थकाइको भाव देखिँदैन’थ्यो । बरु उनको अनुहारमा खुसीको भाव देख्न सकिन्थ्यो । किनभने उनले धेरै समयपछि काम पाएका थिए ।

३९ वर्षीय नेपाली राहतका भोका छैनन् । बस् उनले श्रम बेच्ने बजार खोजिरहेका छन् । जुन बजारमा दैनिक बगाएको पसिनाले उनको चार जनाको परिवार बाँचिरहेको थियो । त्यही बजार अहिले सुनसान हुँदा उनी रोगभन्दा पहिले भोकले मर्ने हो कि भन्ने चिन्तामा छन् ।

एक दिनको बन्दले मुखमा माड नलाग्ने मजदुरहरूको हालत यो दुई महिनाको बीचमा कस्तो होला ?

लकडाउनको तेस्रो महिना सुरु हुँदै गर्दा काठमाडौंका विभिन्न ठाउँमा मजदुरहरूले आफ्नो श्रम बेच्न सुरु गरिसकेका थिए ।

धेरै भिडभाड नगरी गर्न सकिने काम गर्न लकडाउनले पनि नरोकेका केही तस्वीरहरू काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment