
३१ असोज, काठमाडौं । इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि भएको छ । हुथी समूहले इजरायली आक्रमणबाट आफ्ना सैन्य प्रमुख मारिएको पुष्टि गर्दै हत्याको बदला लिने चेतावनी दिएको छ ।
हुथी लडाकू समूहको सैन्य शाखाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मेजर जनरल मोहम्मद अल–घमारीको इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा मृत्यु भएको छ ।’
हुथीले आफ्ना कमाण्डर (सैन्य प्रमुख) घमारीसहित केही लडाकू र घमारीका १३ वर्षीय छोराको इजरायली आक्रमणबाट मृत्यु भएको बताएको हो । तर इजरायलले गरेको आक्रमण र उनीहरुको मृत्युको मिति भने सार्वजनिक गरेको छैन ।
दुई वर्षे गाजा युद्धमा युद्धविराम भएपछि हुथी समूहले आफ्ना सैन्य प्रमुख मारिएको औपचारिक रुपमा पुष्टि भएको हो । हुथीहरूले प्यालेष्टिनी हमास समूहमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै आएका थिए । उनीहरुले ‘रेड सी’ क्षेत्रमा बारम्बार इजरायल लक्षित आक्रमण भन्दै मालवाहक जहाजहरूलाई निशाना बनाएका थिए ।
त्यसको बदलामा इजरायलले सेप्टेम्बरको अन्त्यतिर यमनमा रहेको हुथी समूहको सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको थियो । इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समा बिहीबार गरेको पोस्टमा अगस्टको अन्त्यमा भएको हमलामा हुथी प्रधानमन्त्री र उनको क्याबिनेटका आधाभन्दा बढी सदस्यको मृत्यु भएको उल्लेख गरेका थिए । सो आक्रमणमा घमारी घाइते भएको र पछि उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4