Comments Add Comment

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको रिपोर्ट नेगेटिभ

१० जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सबै ७ जना मन्त्रीको कोरोना पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गण्डकी स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

बुधबार संकलन गरिएको प्रदेश सभामुख, सांसदहरु, अन्य सचिवालय कर्मचारी, पिए र चालकसहित १ सय १४ जनाको रिपोर्ट भने नआइसकेको निर्देशक शर्माले बताए । ‘मुख्यमन्त्रीगायतका मंगलबार संकलन गरिएका स्वाब नतिजा शुक्रबार निकाल्यौं । बुधबार संकलन गरिएका स्वाबको नतिजा आज (शनिबार) आउँछ,’ उनले भने ।

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीको स्वाब भने अहिले परीक्षण नगरिने डा. शर्माले जानकारी दिए । ‘उहाँ काठमाडौं जाँदै हुनुुहुन्छ । २०÷२१ गतेमात्रै सदनमा उपस्थित हुने भएपछि अहिले परीक्षण गर्न आवश्यक नभएको हो,’ उनले भने ।

गण्डकी प्रदेश बजेट अधिवेशनका लागि मंगलबार र बुधबार गरी प्रदेशका मन्त्री, सचिवालय कर्मचारी, सांसद, सुरक्षाकर्मी, सांसदका पिए गरी २ सय ६० जनाको नमुना स्वाब संकलन गरिएको थियो ।  अघिल्लो पटक विभिन्न कारणले स्वाब संकलनमा छुटेका प्रदेश सांसद, प्रदेश सभा सचिवलयका कर्मचारी गरी ४७ जनाको स्वाब शुक्रबार पुनः संकलन गरिएको निर्देशनालयले जनाएको छ ।

आइतबारदेखि सुरु हुने गण्डकी बजेट अधिवेशन बैठकका लागि उनीहरुको स्वाब संकलन गरिएको हो । अघिल्ला वर्ष हुँदै आएको प्रदेश सभा भवनमा ठाउँ अभावले गर्दा यस वर्ष पोखरा सभागृह हलमा अधिवेशन हुन लागेको हो । करिब १३ सय सिट क्षमता भएको हलमा ६० जना सांसदले ‘सामाजिक दूरी’ कायम गर्दै बैठकमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment