+
+
Shares

नगरबासीलाई उद्धार गर्न माडीका मेयर सुनौली र कृष्णनगर पुगे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते ११:४३
ठाकुर ढकाल, मेयर, माडी नगरपालिका । फाइल फोटो

१० जेठ, काठमाडौं । चितवनको माडी नगरपालिकाले कपिलवस्तुको कृष्णनगर र भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको शनिबार उद्धार गर्ने भएको छ । आफ्ना नागरिक लिनका लागि दुई वटा बस लिएर नगर प्रमुख ठाकुरप्रसाद ढकालसहितको एक टोली बिहानै त्यसतर्फ प्रस्थान गरेको छ ।

ढकालले अनलाइनखबरसँग भने, ‘हामी अहिले भैरहवा पुगिसकेका छौं । कृष्णनगर र सुनौली नाकामा माडीका ६६ जना नागरिक छन् । उहाँहरु नाकामा अलपत्र परेको खबर पाएपछि उद्धारका लागि आएका हौं ।’

लखनउबाट थप १५ जना आइरहेको खबर पाएको भन्दै उनले समय मिल्यो भने उनीहरुलाई पनि उद्धार गरेर लैजाने मेयर ढकालले बताए । चिकित्सकको टोलीलाई साथमै लिएर आफ्ना नागरिक उद्धार गर्न कृष्णनगर र सुनौली नाका हिँडेको उनले बताए ।

कृष्णनगर र सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् ।

भारतबाट आउने आफ्ना नागरिक राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘आज उद्धार गरिएका मानिसलाई वडा नम्बर १ स्थित सोमेश्वर माविको क्वारेन्टाइनमा लगेर राख्छौं । जहाँ एक सय जना बस्न सक्ने क्षमता छ ।’

माडीका विभिन्न वडामा ११ वटा क्वारेन्टाइन स्थापना गरिएको र हरेक क्वारेन्टाइन एक सय जना बस्न सक्ने क्षमता रहेको उनले बताए ।

पर्साको ठोरी नाका भएर आउन खोजेका २४ जनामध्ये ९ जना पैदलै हिँडेर माडी आइपुगेको पनि उनले बताए । उनले भने, ‘उहाँहरुलाई पनि उद्धार गर्न हामी ठोरी नाका पुगेका थियौं । तर कानुनी अड्चनका कारण उहाँहरुको उद्धार गर्न सकेनौं । उहाँहरुलाई भारतीय पक्षले ठोरी नाकादेखि झण्डै ६ किलोमिटर टाढाको एक विद्यालयको क्वारेन्टाइनमा लगेर राखेको थियो ।’

२४ जनामध्ये ९ जना हिँडेरै शुक्रबार राति माडी आइपुगेको र उनीहरुलाई वडा नम्बर ९ स्थित गोविन्दवस्ती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए । अन्य १५ जना भने भारतकै क्वारेन्टाइनमा रहेको र उनीहरुलाई उद्धारको पहल भइरहेको मेयर ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?