Comments Add Comment

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो

१८ सय बढीको रिपोर्ट आउन बांँकी

१२ जेठ, बुटवल । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै बर्दियाको बाँसगढी वडा नं ९ का २५ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु पाँच जनाको स्वाबको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका (चन्द्रौटा) वडा नंं ४, ५ र ६ का १९ देखि २३ वर्षका तीनजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पीसीआर परीक्षण गरिएको हो । सोमबार थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।

सोमबारको नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ ।

संक्रमितमध्ये प्रदेश ५ का ३२ जना निको भएर घर फर्केका छन् । बाँके नरैनापुरका एक जनाको क्वारेन्टाइनमा र गुल्मी मदानेका एक पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेश ५ मा आइतबारसम्म आरटी पीसीआर परीक्षणका लागि ८ हजार ९ सय ६० जनाको स्वाब संकलन गरिएको, ७ हजार १ सय ४१ जनाको परीक्षण भएको, दुई सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको र एक हजार ८ सय १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment