Comments Add Comment

अस्पतालमै मनाए कोरोना संक्रमितले ईद

१२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय अदाफ र १६ वर्षीय सफिक (दुवै जनाको नाम परिवर्तन) सोमबार बिहानै उठे ।

दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए । अनि अल्लाह (भगवान) को नाममा दुवै जनाले नमाज (प्रार्थना) पढ्न सुरु गरे । यसो गरिरहँदा अस्पतालका बेडमा रहेका अन्य संक्रमितले भने उनीहरुको क्रियाकलाप हेरेर बसिरहे ।

वीरगञ्ज–३ छपकैयाका अदाफ र रफिक नमाज पढेपछि मुस्लिम समुदायको मुख्य पर्व इदुलफित्र (ईद) को अवसरमा एक अर्कामा शुभकामना साटासाट गरे । त्यसपछि मात्रै थाहा भयो अन्य संक्रमितलाई पनि आज ईद पर्व रहेछ भनेर ।

प्रत्येक वर्ष परिवारको साथमा ईद मनाउँदै आएका दुवै जनाले यो पटक भने अस्पतालमै मनाएका छन् । ईद पर्वमा नयाँ लुगा लगाउने प्रचलन भए पनि योपटक भने उनीहरुले पुरानै पहिरनमा ईद मनाएका छन् । लकडाउनका कारण परिवारका सदस्यहरुले पनि योपटक नयाँ लुगा लगाउन नपाएको उनीहरुले बताए ।

ईदको अवसरमा अस्पतालले सेवइको व्यवस्था गर्दैछ भन्ने जानकारी पाएको अदाफले बताए । आजको दिन मासु, खिर, मिष्ठान्नलगायतका परिकार खाने–खुवाउने चलन रहे पनि यो पटक भने त्यसबाट वञ्चित हुनुपरेको उनले बताए ।

अदाफले भने, ‘इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । तर यो पटक कोरोना संक्रमणको जोखिमका कारण घरमै बसेर सबैले ईद मनाइरहेका छन् भन्ने अस्पतालबाट थाहा पाएको छु ।’

उनले अगाडि भने, ‘बिहानै घरमा फोन गरेर परिवारका सदस्यलाई सम्झाएको छु । घरमा जे छ मिठो मसिना बनाएर खानू र ईद मनाउनू । बाहिर ननिस्कनू भनेको छु । कोरोनालाई जितेर म आउँछु मेरो चिन्ता लिनु पर्दैन । अर्को वर्षसँगै ईद मनाउँला भनेको छु । तर पनि घरको मुली भएकोले होला परिवारका सदस्यले कसरी पर्व मनाइरहेका होलान् भनेर चिन्ता लाग्दो रहेछ ।’

आफूले अघिल्लो पटकको ईद पनि परिवारसँग बसेर मनाउन नपाएको उनले स्मरण गराए । ‘अघिल्लो वर्ष बुबा बिरामी भएका कारण भारतको एक अस्पतालमा ईद मनाएको थिएँ । तर यो पटक आफैं बिरामी भएर अस्पतालमा ईद मनाउनु परेको छ,’ अदाफले भने ।

१६ वर्षीय सफिक भने आमा–बुबासँगबाट पहिलो पटक टाढा रहेर ईद मनाउँदा बढी दुःखी बनेका छन् । उनले भने, ‘घरमा परिवारका सदस्य, साथीभाइसँग बसेर मनाउँदाको बेग्लै आनन्द थियो । नयाँ लुगा लगाउने, सेवई, मिस्ठान्न, मासु लगायतका परिकार खान्थ्यौं । साथीभाइसँग गला मिलाएर शुभकामना साटासाट गथ्र्यौं । तर यो पटक अस्पतालमा परिवार, आफन्त तथा साथीभाइसँग टाढा बसेर मनाउनुपरेको छ । नरमाइलो लागेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment