Comments Add Comment

कोरोनाको परीक्षण र उपचारमा सरकार चुक्यो : जनमोर्चा

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना भाइरसको परीक्षण, उपचार र राहतमा सरकार पछाडि परेको आरोप लगाएको छ । रोकथामप्रतिको उदासीनताले गम्भीर महामारी सिर्जना हुने खतरा औंल्याउँदै उसले ठोस कार्ययोजना बनाएर यसविरुद्ध लड्न सुझाव दिएको छ ।

जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको सरकारको काम–कारबाहीबारे टिप्पणी गरेकी हुन् ।

‘देशमा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको तुलनामा आवश्यक परिक्षण, स्वास्थ्य उपकरण, उपचार र राहतसमेतको तयारीमा सरकार धेरै नै पछाडि रहेको देखिन्छ,’ प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले त्यसबारे समुचित ध्यान दिन नसकेमा देशमा गम्भीर प्रकारको महामारीको स्थिति उत्पन्न हुनेछ । त्यसकारण त्यसबारे गम्भीरतापूर्वक ठोस योजना बनाएर काम गर्नका लागि हामीले सरकारसित विशेष माग गर्दछाैं ।’

भारतमा रहेका नेपालीलाई घर फर्कन लगाइएको प्रतिबन्धबारे पुनर्विचार गर्न पनि जनमोर्चाले माग गरेको छ । भारतबाट लुकीछिपी घर आएका नेपालीबाट कोरोना संक्रमण फैलिएकाले त्यसबारे पुनर्विचार गर्नु उपयुक्त हुने जनमोर्चाको मत छ । ‘स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर भारतमा रहेका नेपालीलाई घर फर्काउनु बुद्धिमानी हुन्छ,’ जनमोर्चाले भनेको छ ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न पनि जनमोर्चाले माग गरेको छ ।

गत शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकको हत्या भएको थियो । सोही घटनामा अन्य ६ युवा पनि बेपत्ता भएका छन् । उच्च जातकी युवतीमाथि प्रेम गरेका कारण घटना भएको समाचारहरू प्रकाशमा आइरहेका बेला जनमोर्चाले दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment